काठमाडौं । माघ महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ । सरकारले गत जेठमा भूउपयोग नियमावली ल्याए यता ओरालो लागेको घरजग्गा किनबेच पुसपछि उकालो लाग्न थालेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा घरजग्गा किनबेच ४१ हजार पुगेको छ । यो चालु वर्षकै धेरै हो भने पुसको तुलनामा करिब २ हजारले बढी हो । सरकारले कित्ताकाट खुला गरेसँगै कारोबार बढे पनि गत वर्षको अवस्थामा फर्किन भने सकेको छैन ।
विभागका अनुसार माघमा देशभरका मालपोत कार्यालयबाट कुल १ लाख १८ हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।
त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । पुस महिनामा ३८ हजार ८७१ पुगेको घरजग्गा किनबेच र १ लाख १३ हजार ८९८ कारोबार भएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर, सबै स्थानीय तहले हालसम्म जग्गाको वर्गीकरण गरेका छैनन् ।
यद्यपि, कित्ताकाटमा भएको सहजता, बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदा सहजै ऋण पाउने अवस्था आएपछि घरजग्गा किनबेच बढेको व्यवसायीहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकको गत वर्षदेखि घरजग्गा लगानीमा कडाइ गदै आएको छ । जसको कारण पनि यस वर्ष बैंकहरूले रियल स्टेटमा धेरै कर्जा लगानी गर्न पाएका छैनन् । गत वर्षदेखि कायम वित्तीय प्रणालीको तरलता संकट चालु वर्षको दोस्रो त्रैमासदेखि सहज भएको छ ।
बढ्यो राजस्व संकलन
घरजग्गा किनबेच बढेसँगै राजस्व संकलन पनि वृद्धि भएको छ । विभागको तथ्यांक अनुसार माघमा सरकारले घरजग्गा कारोबार वापत ३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत पुसमा यस वापत ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड संकलन भएको विभागले जनाएको छ ।
चालु वर्षको सात महिनामा घरजग्गा कारोबारबाट सरकारको कुल २२ अर्ब रुपैयाँ आम्दानी भएको छ ।
यी ठाउँमा भयो धेरै किनबेच
माघमा देशभर कुल ४१ हजार बढी घरजग्गा किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी मालपोत कार्यालय नेपालगञ्जबाट १ हजार ६८५ घरजग्गा किनबेच भएको छ ।
जनकपुको धनुषा मालपोत कार्यालयबाट १ हजार ५६५, इनरुवा मालपोत कार्यालयबाट १४ सय ९९ वटा, तौलिहवा कपिलवस्तुबाट ११ सय ५४ वटा, राजविराज सप्तरीबाट ११ सय ३२ वटा, बेलबारी मोरङबाट ११ सय १० वटा र विराटनगर मोरङबाट ११ सय ५ वटा घरजग्गा किनबेच भएको छ । उपत्यकामा ९ वटा मालपोत कार्यालयबाट ४ हजार बढी घरजग्गा किनबेच भएको छ ।
भक्तपुर मालपोत कार्यालयबाट १ हजार, लगनखेलबाट ९८२ , कलंकीबाट ७२०, चावहिलबाट ४४४ , साँखुबाट ४१८ , मनमैजुबाट २७५, डिल्लीबजारबाट १८९ , टोखाबाट १४४ र गोटीखेलबाट २३ घरजग्गा किनबेच भएको छ ।