काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार एकैदिनमा ६० अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयर बजारका माग सम्बोधन नगरेपछि लगानीकर्ता हतोत्साहित हुँदा बजार लगातार ओरालो लागेको हो ।
नेप्सेमा लगातार गिरावट आएसँगै लगानीकर्ताले दुई दिनमै १ खर्ब गुमाएका छन् । आज सूचकसँगै कारोबार रकमा पनि भारी गिरावट आएको छ । आइतबार ३ अर्ब बढीको कारोबार भएकोमा आज घटेर पौने २ अर्बमा सीमित भएको छ ।
मंगलबार नेप्से १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा आइपुगेको छ । यसदिन २५५ कम्पनीको १ अर्ब ७८ करोड रुपैयाँ बढीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै पौने ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी पावर साढे ७ करोड र एनआइसी एशिया बैंक पौने ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज बाराही हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.०७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ भने सबैको लघुवित्त, आशा लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, किसान लघुवित्त र युनाइटेड लघुवित्तको सेयरमूल्य ३ प्रतिशतले घटेको छ ।