तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
डीपीआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार ५०० मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर १ हजार ७०० मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिए ।
उनले डीपीआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताए। छलफलपछि निष्कर्ष निकाल्ने र त्यहीअनुसार सङ्घीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ ।
हाल विमानस्थलको धावनमार्ग ७५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ ।
हाल नेपाल एयरलाइन्सको १९ सिटे ट्वीनेटरले उडान भरिरहेको छ । आगामी फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने रु ८ हजार कायम रहनेछ ।रासस