काठमाडौं । गत आर्थिक वर्षदेखि दबावमा रहेको अर्थतन्त्रमा सुधारको आएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि, विदेशी विनियम संचिति बढ्नु, व्यापार घाटा कम हुनु, शोधनान्तर स्थिति नाफामा जान थालेसँगै अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको हो ।
यद्यपि, अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्यवृद्धिको ग्राफ भने उकालो नै छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको अध्ययन प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा आयात २०.७ प्रतिशत घट्दा व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । यसैगरी, शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा छ भने विदेशी विनिमय सञ्चिति १३ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । मुद्रास्फीति ७.२ प्रतिशत पुगेको छ ।
रेमिट्यान्स वृद्धि
चालु वर्षको ६ महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएर ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।
चालु खाता र शोधनान्तर स्थिति
यस अवधिमा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो ।
पुस मसान्त सम्म शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।
विनिमय सञ्चिति
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भएर पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ ।
पछिल्लो ६ महिनामा यस्तो रकम १ खर्ब २२ अर्ब रुपैयाँले बढेको हो । गत वर्षको दोस्रो त्रैमासदेखि आयात वृद्धिले सरकारको टाउको दुखाइरहेको विदेशी विनिमय संचितिमा रेमिट्यानस आप्रवाहले सकारात्मक बनाएको छ ।
६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
मूल्यवृद्धि अझै उकालो
समीक्षा अवधिमा मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर पुगेको छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ७ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको थियो । बाह्य दबाबका कारण मूल्यवृद्धिको प्रभाव सबै वस्तुमा परेको छ ।