टेकु बायोग्यास प्लान्टको मर्मत सकियो, संचालनको टुंगो छैन

काठमाडौं । टेकुमा रहेको बायोग्यास प्लान्टको मर्मत कार्य सकिसकेको छ । फोहोरबाट बिजुली र बायोग्यास उत्पादन गर्न सकिने उक्त प्लान्टको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्पन्न गरेको हो ।

उक्त प्लान्ट ९ वर्षदेखि अलपत्र अलपत्र थियो । आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले हाल मर्मत सम्भार सकिएको बताए । उनले अब उक्त प्लान्ट संचालनका लागि फोहोर संकलन गर्न काठमाडौं महानगरलाई भनिएको बताए । उनले फोहोर संकलन गरी नकुहिन्जेल राख्नु पर्ने भएकाले तत्काल ग्यास उत्पादन सुरू नहुने बताए ।

‘हामीले जीर्ण अवस्थामा रहेको सामानलाई बनाएर दिएका छौँ, त्यसमा फोहोर हालेर तयार गरी राख्न भनेका छौँ , त्यसपछि परीक्षणको रुपमा ग्यास उत्पादन हुन्छ,’ पुनले चाणक्य पोष्टसँग भने ‘कुहिने फोहोर राखेपछि पनि कुहिन समय लाग्नेछ ।’

आविष्कार केन्द्रले बायोग्यास प्लान्ट मर्मतका क्रममा ५ लाख रुपैयाँ बढी खर्च गरेको उनले जानकारी दिए । उनले हस्तान्तरण गरेपछि समेत समस्या आए फेरि मर्मत गर्ने बताए ।

संचालनको टुंगो छैन

झन्डै १ दशकदेखि अलपत्र बायोग्यास प्लान्टको आविष्कार केन्द्रले मर्मर सकाए पनि अब कहिलेदेखि संचालनमा आउँछ भन्ने टुंगो छैन । काठमाडौं महानगरपालिकाले प्लान्ट संचालनमा ल्याउनुपर्ने भए पनि अहिलेसम्म कुनै तयारी गरिरहेको छैन ।

हालसम्म महानगरले प्लानटका लागि आवश्यक फोहोर राख्ने जग्गा समेत व्यवस्थापन गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाका मेयरका शोकिय सचिव सुनिल लम्सालले उक्त ग्यास प्लान्ट चलाउनु अघि कुहिने र नकुहिने फोहार छुट्याएर राख्न जग्गा खोजी भइरहेको बताए । उनले जग्गा प्राप्तिपछि कुहिने र नकुहिने फोहार छुट्याएर बायोग्यास, बिजुली र मल उत्पादन गरिने बताए ।

‘ग्यास प्लान्ट बनिसकेको छ, अब फोहोर छुट्याएर राख्न जग्गा प्राप्तिको काम गर्दै छौँ, त्यो सकिएपछि ग्यास, बिजुली, मल सबै उत्पादन गरेर हेर्नेछौँ,’ लम्सालले चाणक्य पोष्टसँग भने ।

यस्तै, काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण विभागले भने बायोग्यास प्लान्ट सञ्चालन सम्बन्धी कुनै तयारी गरेको आफूलाई थाहा नभएको जनाएको छ । बायोग्यास प्लान्ट भित्र २ वटा कुहिने फोहोर राख्ने क्षमताको ट्यांकर रहेको छ । उक्त ट्यांकरमा ३ देखि ४ टन फोहोर अटाउने छ ।

बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि प्रत्येक दिन ९६ केजी बायोग्यास उत्पादन गर्ने छ । प्लान्टले दैनिक १५ सय केजी मल उत्पादन गर्न सक्ने छ । टेकु प्लान्टमा ३०० टन फोहोरबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य महानगरको रहेको छ । मेसिन दैनिक प्रयोगमा ल्याउन सके काठमाडौंको ४०० मेट्रिकटन फोहोर सो खपत हुने बताइन्छ ।

महानगरको मेयरमा बालेन्द्र शाह मेयर चुनिएपछि उक्त बायोग्यास प्लान्टको मेसिन मर्मतका लागि आविष्कार केन्द्रलाई जिम्मा दिइएको थियो । वि.सं. २०७१ सालमा दाताको सहयोगमा बायोग्यास मेसिन ल्याइएको थियो । युरोपेली युनियन (ईयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैंले व्यहोर्ने गरी १ करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो । बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने यस प्लान्टको प्रयोगले सहरभित्रको अधिकांश फोहोरलाई मोहोरको रुपमा प्रयोग गर्न सक्ने विश्वास राखिएको थियो ।
२०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । त्यसपछि यो प्लान्ट बन्द अवस्थामा रहेको छ ।

 

साना किसान लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ? Read Previous

साना किसान लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक 'फास्ट ट्रयाक'मा अघि बढाइने Read Next

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक 'फास्ट ट्रयाक'मा अघि बढाइने