काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको ६ लाख ९७ हजार २०० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी रू ३४ करोडको २४.७१ प्रतिशतले हुने रू ८ करोड ४० लाख मूल्य बराबरको कुल ८ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।
त्यस्तै १६ हजार ८०० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार दुई सय कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर आइपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।
कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।