नयाँ बसपार्क भित्रै लज निर्माण गरिँदै, अर्को बसपार्क निर्माणको योजना

काठमाडौं । काठमाडौं गोंगबुस्थित नयाँ बसपार्क भित्रै लज (बास घर) निर्माण गरिने बएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्य प्रालिले यात्रुको सुविधाका लागि बसपाकै भित्रै लज निर्माण गर्न लागेको हो ।

गोंगबु बसपार्क देशकै सबैभन्दा ठूलो बसपार्क हो । यहाँबाट देशका ६० बढी जिल्ला बसहरु जाने आउने गर्छन् । अहिले बाहिरबाट आएका यात्रु बसपार्कमा ओर्लिएपछि बास बस्नका लागि होटल/लज खोज्न बाहिर जानुपर्ने अवस्था छ । त्यसैलाई मध्येनजर गर्दै लोत्सेले बसपार्क भित्रै सुविधायुक्त लज निर्माण गर्न लागेको हो ।

लोत्से बहुउद्देश्य प्रालिका एचआर म्यानेजर पंकज मल्लले कम्पनीले यात्रुको सुविधाका लागि बसपार्क भित्रै लज निर्माण गर्न लागेको जानकारी दिए ।

उनले २ करोड बढी लगानीमा उक्त लज बनाउन लागेको बताए । उक्त लज ३ देखि ४ तल्लाको हुने छ । ‘अहिले यात्रुलाई बसबाट ओर्लेपछि होटल लज खोज्न बाहिर जानुपर्ने बाध्यता,’ मल्ले चाणक्य पोष्टसँग भने, ‘अब यात्रुको सुविधाका लागि हामीले बसपार्क भित्रै लज निर्माण गर्न लागेका छौँ, बसपार्कको मास्टर प्लान अनुसार २ करोड बढी लगानीमा ३ तल्ले भवन निर्माण हुनेछ ।’

पहिला बिल्डङ बनाएर आवश्यकता अनुसार कोठाहरु निर्माण गर्ने योजना रहेको उनले बताए ।

अनलाइन टिकट व्यवस्था गर्ने

लोत्सेले बसपार्क भित्रको काउन्टर सञ्चालन गर्न पाए त्यसलाई पूर्ण रुपमा अन्लाइन टिकेटिङको व्यवस्था गर्ने बताए । उनले बसको प्रकार अनुसार अनलाइनबाटै बुक गरी पैसा तिरेर गाडी चढ्न मिल्ने व्यवस्था गर्ने बताए ।

उनले सरकारले टिकट काट्ने व्यवस्था अनलाइन गर्ने भने पनि बिचौलियाका कारणले त्यो कार्यन्वयन हुन नसकेको बताए । पछिल्लो समय ४८ वटा बस काउन्टर सञ्चालनमा रहेको छ । बस काउन्टर छुट्टा छुट्टै यातायात व्यवसायीले सम्हालेका छन् ।

१२२ जना रोजगार दिँदै बसपार्क

लोत्सेले बसपार्क व्यवस्थापनका लागि मात्रै १ सय बढी कर्मचारी राखेको छ । हाल बसपार्कभित्र ३४ जना सुरक्षा गार्ड रहेका छन् । सरसफाइका लागि ३६ जना खटिएका छन् । लोत्सेका ५२ जना कर्मचारी अन्य काममा खटिएको मल्लले बताए ।

अर्को बसपार्क बनाउने योजना

सरकारले सहयोग गरे अर्को पनि बसपार्क बनाउने योजना रहेको मल्लले बताए । उनले अर्को बसपार्कका लागि मुड्खुमा लिजमा जग्गा लिन आफूले हेरिरहेको बताए । तर, सरकारले सहयाेग नगरे संस्थाले मात्र बसपार्क निर्माणका लागि  रिक्स लिनसक्ने अवस्था नरहेकाे उनले बताए ।  बताए ।

लोत्सेले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अन्तर्गत बसपार्कको स्तरीकरण गरी सञ्चालन गर्दै आएको छ । लोत्सेले महानगरको १५६ रोपनी जग्गा लिजमा लिएर नयाँ बसपार्क संचालन गरिरहेको छ । बसपार्कभित्र वहुउद्देश्य व्यापारिक कम्प्लेक्ससहित बसपार्क २४ घण्टा बिजुली, सर्भिस सेन्टर, सीसी टीभी, ट्राफिक पुलिस सुविधा रहेको मल्लले बताए ।

उनका अनुसार बसपार्क भित्र अफिस, मल, टर्मिनल विल्डिङ, वासिङ सेन्टर, मेन्टेनेन्स, लगेज हब सबै सुविधा राखिएको छ । हालसम्म लोत्सेले बसपार्क निर्माण तथा व्यवस्थापनमा २ अर्ब बढी रकम खर्च गरिसकेको उनले बताए ।

अरुण तेस्रोका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरू Read Previous

अरुण तेस्रोका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरू

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन, होटलको ४० प्रतिशत बुकिङ रद्द Read Next

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन, होटलको ४० प्रतिशत बुकिङ रद्द