काठमाडौं । निर्माण सुरु गरिएको ७ वर्ष बित्दासमेत पूरा हुन नसकेको चाबहिल–साँखु सडक कालोपत्र चिप्स (कालोपत्रका लागि चाहिने साना टुक्रा गिट्टी) अभावका कारण रोकिएको छ । चाबहिल-साँखु सडक विस्तार अन्तर्गत मूलपानीको तिवारी टोलमा ३०० मिटर सडक कालोपत्र गर्ने तयारी भइरहँदा चिप्स अभावमा रोकिएको हो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले उक्त खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको अवस्थामा गिट्टी अभावका कारण देखाउँदै निर्माण व्यवसायीले काम रोकेको बताए ।
उनका अनुसार गृहमन्त्रालयले दर्ता तथा नवीकरण नभएका क्रसर उद्योग बन्द गरेपछि गिट्टी, चिप्स अभाव भएको हो । उनले चाबहिल–साँखु सडक विस्तार चालु आवभित्रै सकिने दाबी गरेका छन् ।
‘चाबहिल–साँखुको सडकमा थल निर सबैभन्दा अफ्ठेरो थियो, त्यहाँ काम सकिसक्यो, अब तिवारी टोलमा कालोपत्र गर्न बाँकी छ, त्यसको तयारी हुँदै गर्दा गिट्टी अभाव भयो भनेर निर्माण व्यवसायीले काम रोकेका छन्,’ जोशीले चाणक्य पोष्टसँग भने ।
कुल ११.६ किलोमिटर लम्बाईको यस आयोजनामा ९८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ४ वटा ठेक्कामा काम भइरहेको सो खण्डमा यथावत स्थितिमा सम्पन्न गर्नेगरी काम भइरहेको हो ।
२०७२ सालमा सुरु भएको यो आयोजना अन्तर्गत सबै काम २०७९ चैत ३० गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । बज्रगुरु/च्याङमिला/खानी जेभी अन्तर्गत २.४०० किलोमिटर, बज्रगुरु/विरुवा/खानी जेभी ले ३ किलोमिटर, बीटी/सुनकोशी/वल्र्डवाईड जेभीले २.४६० किलोमिटर र युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरर्स प्रालिले ३.६०० किलोमिटर सडक विस्तारको काम जिम्मा लिएका थिए ।
हाल सोमध्ये एक खण्डमा मात्र काम बाँकी रहेको हो । ठेकेदार कम्पनीले काम सके पछि पनि त्यसको १ वर्षसम्म सडक बिग्रे, भत्केको अवस्थामा ठेक्का कम्पनी आफैले बीना भुक्तानी मर्मत गर्नुपर्नेछ ।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडाइमा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । स्थानीयले सडक विस्तारका क्रममा घरहरू भत्काउन नदिएपछि यथास्थितिमा निर्माण गरिरहेको हो ।
विगतमा बजेट अभाव, ठेकेदारको लापरवाही, कोभिड १९ का कारण गति लिन नसकेको यस आयोजनाले यो पटक क्रसर उद्योग बन्द भएको कारण गति लिन सकेको छैन ।