काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षको सबैभन्दा धेरै कित्ताकाट भएको छ । गत जेठदेखि भू उपयोग नियमावलि लागू भएसँगै सुस्ताएको कित्ताकाट पुसमा ह्वात्तै बढेको हो ।
मंसिरको तुलनामा पुसमा कित्ताकाट झन्डै दोब्बरले बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभगका अनुसार पुसमा २१ हजार ७८४ जग्गालाई टुक्र्याएर ४९ हजार १०४ टुक्रा बनाइएको छ । जबकी मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा बनाइएको थियो ।
पुसमा घरजग्गा कारोबार बढेसँगै कित्ताकाटमा पनि वृद्धि भएको हो । पछिल्लो समय स्थानीय तहहरूले आफ्नो क्षेत्र भित्रको जमिन कृषि र गैर कृषिमा वर्गीकरण गर्ने क्रमबढेसँगै कित्ताकाट मौलाएको हो ।
सरकारले गत जेठमा भूउपयोग नियमावली कार्यान्वयन ल्याउँदै जमीन कृषि र गैर कृषि वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको थियो । जसकारण जेठयता कित्ताकाट न्यून भएको थियो ।
भूमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर २३ सम्म प्रत्येक स्थानीय तहलाई आफ्नो क्षेत्र भित्रको जमिन कृषि र गैरकृषिमा वर्गीकरण गर्न निर्देशन दिएको थियो । यद्यपि, हालसम्म जम्मा १०० बढी स्थानीय तहले मात्र जमिन वर्गीकरण गरेका छन् । जमिनको वर्गीकरण गरेका स्थानीय तहले कित्ताकाट खुला गरेका छन् ।
आगामी दिनमा कित्ता झनै बढ्दै जाने व्यवसायीहरू बताउँछन् । जमिन वर्गीकरण गर्न बाँकी रहेका स्थानीय तहहरूले पनि क्रमशः आफ्नो क्षेत्रको जमिन वर्गीकरण गरी कित्ताकाट खुलाउने उनीहरूको भनाइ छ ।
विभागको तथ्यांक हेर्दा सहरी र सहरउन्मुख क्षेत्रहरूमा कित्ताकाट मौलाएको छ । सहरी क्षेत्रमा भएको जनसंख्या वृद्धि, आवास निमार्णको तीव्र आकांक्षा र भूमाफियाको सक्रियताले जमिनको कित्ताकाट बढ्दै गएको देखिन्छ ।
सरकारले कृषियोग्य जमिनको खण्डीकरण रोक्न नियमावली मार्फत कृषि र गैरकृषि वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यान्वयनमा भने कृषियोग्य जमिन समेत गैरकृषिको रुपमा वर्गीकरण गरिएको पाइन्छ ।
कुन महिना कति कित्ताकाट ?
विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७४ हजार जमिनको कित्ताकाट गरेर १ लाख ५८ हजार बनाइएको छ । गत वर्षको सोही अवधिमा ३ लाख ८१ हजार कित्ताकाट गरेर ८ लाख ७४ हजार टुक्रा पारिएको थियो ।
मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा पारिएको थियो । चालु वर्षको साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा, भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागले जनाएको छ ।
यी हुन् धेरै कित्ताकाट भएका ठाउँ
पुसमा सर्वाधिक कित्ताकाट भुुमी सुधार तथा मालपोत कायाृलय नेपालगञ्ज बाँकेबाट, ४५८९ कित्ताकाट भएको छ । दोस्रोमा कैलालिको धनगढीबाट ४३८३ कित्ताकाट भएको छ भने मकवानपुर मालपोतबाट ३३२४, मालपोत कार्र्यालय लगनखेल ललितपुरबाट २९१२ जग्गा कित्ताकाट भएको छ ।
कार्यालय कार्यालयबाट १९०५ कित्ताकाट भएको विभागले जनाएको छ । यसैगरी, मालपोत कार्यालय दाङको घोराहीबाट १७११ कित्ताकाट भएको छ । सुर्खेतबाट १५७५, मालपोत कार्यालय चितवन र पाल्पाबाट १४/१४ सयबढी कित्ताकाट भएको विभागको तथ्यांक छ ।