सडक निर्माण सम्बन्धी समस्या समाधान गर्न साझा संयन्त्र बनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका महानगरपालिका, सडकमा संरचना रहने निकायका प्रतिनिधिसहितको अन्तक्र्रियात्मक बैठकले कुनै एउटा निकायले मात्रै चाहेर सडकको राम्रो बन्न नसक्ने भन्दै मिलेर अघि बढ्ने गरी छलफल भएको हो ।

विगतमा मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुन नसकेको बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्ने बताए । सबैले समन्वयमा आआफ्नो काम गर्नुपर्नेमा उनको जोड छ । सडकमा स्वामित्व फरकफरक मन्त्रालय वा फरक सरकारको भए पनि कुनै पनि समस्या आउँदा भौतिक पूर्वाधार मन्त्रालयलाई आरोप लाग्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘सडकमा खाल्डाखुल्डी छ भने त्यो आरोप भौतिक मन्त्रालयलाई आउँछ ।’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले आफूहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको बताए ।

सो बैठकले सडक निर्माणमा रहेका समस्याको पहिचान गरेर कामलाई गति दिइने र हरेक महिनाको १५ गते पछिको शुक्रबार २ बजे बैठक बस्ने पनि सहमति गरेको छ ।

बैठकमा काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुखहरु, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुई दर्जनभन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य Read Previous

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ देखि आइपीओ विक्री गर्ने Read Next

मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ देखि आइपीओ विक्री गर्ने