सगरमाथा जलविद्युत् कम्पनीको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी आज (बिहान १० बजे) देखि प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड २० लाख बराबरको ११ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गरेको हो ।

स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा आगामी माघ १९ मा हुनेछ भने ढिलोमा आगामी फागुन ५ बन्द हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि माघ १९ गतेभित्र आवेदन दिनुपर्ने छ ।

स्थानीयले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई ओलामा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

चोभार सुक्खा बन्दरगाह सुनसान, 'फास्ट ट्रयाक नबेनसम्म पूर्ण क्षमतामा सञ्चालन नहुने' Read Previous

चोभार सुक्खा बन्दरगाह सुनसान, 'फास्ट ट्रयाक नबेनसम्म पूर्ण क्षमतामा सञ्चालन नहुने'

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य Read Next

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य