मान्म । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो ।
कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर २ हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, ४८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् ।
यी सबै आयोजना बनेका १ हजार ३५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । यसको उत्पादनले कालीकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरु भए पनि तिनीहरुको उपयोगिता हुन सकेको छैन ।
कुल ४८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए), निर्माणका लागि स्वीकृति र विद्युत् उत्पादनका टेष्ट टनेल खोल्ने काम भइसकेको छ । यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ ।
आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । ‘फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पूरा भइरहेको छ,’ उनले भने, ‘लगानीको मोडालिटी टुङ्ग्याउन बाँकी रहेको छ ।’
आयोजनाका लागि १ हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब १ हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् ।
यस आयोजना निर्माण भएमा जिल्लावासीले शेयर पाउनाका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । ‘यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएका छौँ । आयोजना निर्माणको काम अगाडि बढ्दा स्थानीयवासी निकै उत्साहित भएका छन्,’ उनले भने ।
आयोजनाका लागि रु ९२ अर्ब ३ करोड लाग्ने अनुमान गरिएको छ । निर्माण थालेको ५ वर्षमा आयोजना पूरा गर्न लक्ष्य राखिएको छ । सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट १ किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन सुरुङमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ ।
जिल्लाको तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता ८६० मेगावाट क्षमताको रहेको छ । तिला–१ को विद्युत् उत्पादन क्षमता ४२० मेगावाट र तिला–२ को ४४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ ।
दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले कम्पनीले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ ।
दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडि बढ्न नसकेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । यी आयोजनाबाट कालीकोटका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए ।
दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए), आयोजनाको विस्तृत अध्ययन (डीपीआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
कालीकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि ४०० केभी प्रसारण लाइन निर्माण हुने भएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि ४०० केभी प्रसारण लाइन जडान हुने भएको हो ।
प्राधिकरणले कालीकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायत माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजना निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले जानकारी दिए । उनले भने, ‘यो ४०० केभी प्रसारण लाइन कालीकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो ।’
प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालीकोटमा जग्गा खरिद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि ४०० केभी प्रसारण लाइन निर्माणका लागि करिब रु १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ ।
कालीकोटमा निर्माण हुने यी आयोजना बनेमा कालीकोट तथा कर्णालीको समृद्धि आधार हुने स्थानीयले बताएका छन् । यी आयोजनाबाट कालीकोटका हजारौँ युवायुवतीले रोजगारी, विद्युत्मा लगानी गर्ने अवसर पाउनेछन् । जलविद्युत् आयोजनाले कालीकोट जिल्ला र कर्णाली प्रदेशका लागि समृद्धिको आधार रहेको यसको विकास गर्नका लागि अहिलेका स्थानीय, प्रदेश र सङ्घीय सरकारले कामको थालनी गर्नुपर्ने सान्नीले बताए । ‘जलविद्युत्का ठूला आयोजना बन्नु कालीकोट र कर्र्णाली प्रदेशका लागि गौरवको विषयमा हो,’ त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने ।
जिल्लामा सञ्चालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट उत्पादन हुने सक्ने लघु जलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मतसम्भारको अभावलगायत कारणले अलपत्र अवस्थामा छन् ।
तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर पनि मर्मतसम्भारको अभावमा बन्द भएका छन् ।
त्यस्तै ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजनालगायत दर्जर्नौं आयोजना रकम अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् ।
शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना लघुजलविद्युत् आयोजना (१५ किवा), नरहरिनाथ गाउँपालिकाको माल्कोट लघु लघुजलविद्युत् (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि रकम अभावका कारण काम सुरु हुन सकेको छैन ।
हाल ५०० किलोवाटको सान्नीगाडको साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट क्षमताको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघुजलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेका छैनन् ।
यस्तै भर्ता, तिलागुफा नगरपालिकाको एक सय किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन् ।