२३ वर्षपछि पूरा हुँदै धोबिखोला करिडोर, अब ३ किमी मात्र कालोपत्र हुन बाँकी

काठमाडौं । निर्माण सुरू भएको झन्डै साढे दुई दशकपछि धोबीखोला करिडोर निर्माण अन्तिम चरणमा पुगेको छ । वि.सं. २०५६ सालबाट निर्माण सुरू गरिएको धोबीखोला करिडोर २३ वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको हो ।

उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरव ढकालले हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनले बाँकी रहेको ५ प्रतिशत काम अन्तर्गत हाल धमाधम कालोपत्र भइरहेको बताए ।

उनका अनुसार हाल अनामनगरको बिजुलीबजार खण्डको १.५ किलोमिटर बाटोमा कालोपत्र भइरहेको छ । २४ किलोमिटर लामो धोबीखोला करिडोरको करिब ३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।

‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम पूरा भइसकेको छ । अब करिब ३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सोमध्ये हाल १ं५ किलोमिटरमा कालोपत्र गर्ने काम भइरहेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘अब बाँकी काम पनि चाँडै सक्नेछौं, चालु वर्ष भित्रै सकिन्छ ।’

केही पुल मुनिको ठाउँमा काम बाँकी रहेको उनले बताए । ‘अन्डर पासमा १/२ ठाउँमा सडक व्यवस्थित बनाउन बाँकी छ । त्यसका लागि ठेक्का लागि सकेको छ, अब यो आव भित्रै पूरा गरेर हस्तान्तण गर्ने तयारी भइरहेको छ,’ ढकालले भने ।

बुढानीलकण्ठ क्षेत्रमा चार किलोमिटरमा ढल व्यवस्थापन गरेर बाँकी कामको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई दिएको उनले बताए । प्राधिकरणले बाँकी स्थानमा चालु आवमा काम सकिने दाबी गरेको छ ।

काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला कोरिडोरलाई २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि सारेको थियो ।

महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्रोजेक्टबाट धोबीखोला कोरिडोर सुधार आयोजना सुरू भएको थियो । तर, त्यसमार्फत राम्रो काम नभएपछि २०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लिएको थियो । अहिले उपत्यका विकास प्राधिकरणले धोबीखोला कोरिडोर निर्माणको काम हेरीरहेको छ ।

कोरिडोर निर्माणका क्रममा ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । धोबीखोला कोरिडोर निर्माणका क्रममा हालसम्म ३ अर्ब रुपैयाँ बढि खर्च भइसकेको छ । ५ प्रतिशत मात्र काम बाँकी रहेको यस आयोजना सो आयोजना कुल लागत ४ अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

धोबीखोला कोरिडोर निर्माण गर्न थालेको २ दशक बढी समय लाग्दा पनि हालसम्म सम्पन्न हुन सकेको छैन । लामो समयदेखि म्याद थप हुँदै आएको धोबीखोला करिडोर निर्माण २०८० सालको अन्तसम्ममा सम्पन्न गर्ने प्राधिकरणको दाबी छ ।

 

६ वर्षमा २% भन्दा कम सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान, किन देखिएन आकर्षण ? Read Previous

६ वर्षमा २% भन्दा कम सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान, किन देखिएन आकर्षण ?

अब यस्ता आयोजना मात्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुने Read Next

अब यस्ता आयोजना मात्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुने