वालिङ । स्याङ्जाको एउटै गाउँबाट रु १ करोडभन्दा बढीको सुन्तला विक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु १ करोडभन्दा बढीको सुन्तला विक्री भएको हो ।
सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा विक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए ।
‘अहिले ठूला बगैँचाको सुन्तला ठेक्कामार्फत् एक करोडको विक्री भइसकेको छ,’ उनले भने, ‘अब साना बगैँचाका करिब रु ७ लाख बराबरका सुन्तला विक्री हुन बाँकी छ ।’
यहाँ उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा नै खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी रु ६ देखि ७० मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन् ।
‘गतवर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा मूल्याङ्कन गर्छौ,’ उनले भने, ‘अन्दाजी ४०÷५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन, ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न ।’
गाउँमा रहेका २२ घरले न्यूनतम १ लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला विक्रीबाट आम्दानी गरेको उनको भनाइ छ । सुन्तला विक्रीबाट ५ लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको सङ्ख्या धेरै छ ।
गतवर्ष यस गाउँबाट रु ८७ लाख ७४ हजार बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए ।
गत वर्ष ११ हजार सुन्तलाका बोट रहेपनि यस वर्ष ३ हजार ३०० सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो ।
‘यहाँ उत्पादन भएको सुन्तला सबै विक्री हुँदैनन्,’ उनले भने, ‘गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ ।’ यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ । अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको सङ्ख्यामा बढी हुनेगरेको छ ।रासस