मंसिरमा चालु वर्षकै धेरै कित्ताकाट, यसकारण बढ्यो

काठमाडौं । मंसिर महिनामा चालु आर्थिक वर्षको सबैभन्दा धेरै कित्ताकाट (जमिन खण्डीकरण)भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत जेठमा भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याएदेखि ओरालो लागेको जग्गाको कित्ताकाट मंसिरमा भने बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिर महनिामा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा पारिएको छ । यो चालु वर्षको ५ महिनामा भएको सबैभन्दा धेरै कित्ताकाट हो ।

चालु वर्षको पाँच महिनामा ५२ हजार ८५८ कित्ता जमिनलाई टुक्रयाएर १ लाख ९ हजार टुक्रा बनाइएको छ । गत वर्षको सोही अवधिमा ३ लाखलाई ७ लाख टुक्रा बनाइएको थियो ।

चालु वर्षको साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा, भदौमा १० हजार ९२२ कित्ताकाट गरी  २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको छ ।

सरकारी नीतिकै कारण घटेको कित्ताकाट सरकारी व्यवस्थाकै कारण बढेको हो । भूमि मन्त्रालयले मंसिर २३ गतेसम्म प्रत्येक स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रको जमिन कृषि र गैरकृषि वर्गीकरण गर्न समयसीमा दिएको थियो । सो समयभित्रै सबै स्थानीय तहले वर्गीकरण नगरे पनि केहीले जमिन वर्गीकरण गरेकाले कित्ताकाटको संख्या बढेको हो ।

वर्गीकरणपछि गैरकृषियोग्य जमिन कित्ताकाट गर्न पाइने व्यवस्था छ । स्थानीय भूउपयोग परिषदले ६ महिनाभित्र कृषि क्षेत्र वर्गीकरण गरीसक्नुपर्ने प्रावधानको अवधि सकिएको छ । यस अवधिमा जग्गाको वर्गीकरण गरेका स्थानीय तहहरूमा कारोबार खुकुलो भएको छ । जसको कारण कित्ताकाट बढेको व्यवसायीहरू बताउँछन् ।स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटका लागि कारोबार गर्नेहरूले सास्ती भोग्दै आएका थिए । हालसम्म कति स्थानीय तहरूले जग्गाको वर्गीकरण गरे भन्ने विषयमा मन्त्रालय नै अनभिज्ञ छ । तर, जिल्ला मालपोत र नापी कार्यालयलाई कृषि र गैरकृषि जमिन छुट्याएको जानकारी गराए हुने हुँदा कित्ताकाटमा गरिएको कडाइ खुकुलो भएको छ ।

यद्यपि, व्यवसायी भने अझै पनि जग्गाको कित्ताकाटमा सहज नभएको बताउँछन् । ‘कित्ताकाट तथा कारोबारमा गरिएको कडाइ खुकुलोभन्दा पनि मालपोत कार्यालयका कर्मचारीहरूको तजबिजमा भर पर्ने गरेको जग्गा तथा आवास व्यवसायी महासंघका उपाध्यक्ष विदुर धमलाले बताए ।

‘कित्ताकाटमा अझै सहज छैन । मालपोतका कर्मचारीहरूको तजबिजमा भरपरिरहेको छ । सबै स्थानीय तहले जग्गाको वर्गीकरण समेत गर्न सकेको देखिँदैन । यसले कारोबारमा पनि सुधार आउन सकेको छैन,’ उनले भने ।

नियमावली अनुसार कृषि क्षेत्रमा वर्गीकरण गरेपछि घरेडी तथा आवासको रुपमा उपयोग गर्न नपाइने भएपछि कतिपय स्थानीय तहले स्थानीय जग्गा व्यवसायीसँगको मिलेमतोमा गैरकृषि घोषणा गरेर कारोबार गरिरहेका छन् ।

स्थानीय भूउपयोग परिषदको जग्गाको वर्गीकरण सहितको सिफारीस आवश्यक पर्नेभएपछि कित्ताकाटमा स्थानीयहरूले समस्या भोग्दै आएका थिए । पछिल्लो समय वर्गीकरणपछि केही खुकुलो हँदा कारोबार र कित्ताकाट वृद्धि भएको छ ।

स्थानीय भू–उपयोग परिषदले जमिनलाई १० भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार ६ महिना भित्र कृषिक्षेत्र छुट्याएको जानकारी सम्बन्धित नापी र मालपोत कार्यालयलाई गराउनु पर्ने समय पनि गत मंसिरमै सकिएको छ ।

मन्त्रालयका अधिकारीहरू भने कृषि वा गैरकृषि क्षेत्रमा छुट्याएको स्थानीय तहको सिफारीस लिएर आए कित्ताकाट र कारोबार सधै खुला रहेको बताउँछन् ।

चालु आवमा बैंकिङ प्रणालीमा तरलता अभाव, राष्ट्र बैंकको नीतिगत कडाइका कारण घरजग्गा कारोबार बढ्न सकेको छैन । जसको कारण सरकारले त्यस वापत प्राप्त गर्ने राजस्वमा समेत भारी गिरावट आएको छ । यद्यपी, मंसिरपछि प्रणालीमा तरलता सहज भएको छ भने सरकारले नीतिगत कडाइ खुकुलो बनाएको छ ।

सहरी क्षेत्रमा भएको जनसंख्या वृद्धि, आवास निमार्णको तीव्र आकांक्षा र भूमाफियाको सक्रियताले जमिनको कित्ताकाट बढ्दै गएपछि त्यसलाई रोक्न सरकारले कडाइ गरेको थियो ।

यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान गर्दै Read Previous

यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान गर्दै

नेरुडे लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो Read Next

नेरुडे लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो