मुग्लिन-पोखरा सडक ४ लेनमा विस्तार गर्दा मासिदै डुम्रे बजार

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो बजार मासिने अवस्था रहेको छ ।

राजमार्ग विस्तारका लागि मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग छेउका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । योजनामा सम्झौता भएअनुरुप पश्चिम खण्डभन्दा बढी घरटहरा पूर्वी खण्डमा हटाउनुपर्ने रहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको छेउमा रहेका घरटहरा हटाउन सूचना जारी गरेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारकी ७५ वर्षीया एकल महिला सरस्वती श्रेष्ठ विस्थापित हुनुपर्ने अवस्थामा पुगेकी छिन् ।

‘आफ्नो घरमूलीले बनाएको घर छोडेर जान मन छैन । परान यहीँ जाओस् भन्ने थियो । सर्नुपर्ने भएको छ तर, जाने ठाउँ छैन । रोगी छु कसरी घर बनाउने रु गाँसबास उठीबास भएको छ,’ उनले भनिन्, ‘हामीजस्ता घर बनाउन नसक्ने लाई सरकारले नै व्यवस्था गरे हुने हो । त्यस्तो गर्दैन ।’

आयोजनाले राजमार्ग विस्तारका क्रममा हटाउनुपर्ने भए पनि उनको अन्यत्र घर निर्माण गर्नसक्ने अवस्था छैन । ‘बाटो बढाउने भनेर हामीजस्ता काम गर्न नसक्ने लाई त उठीबास लगायो । पैसा दिएर मात्र के गर्नु आफूले घर बनाउन सक्दिन । खै अर्को ठाउँमा घर बनाउन जन पनि छैन धन पनि छैन । हामी जस्ताको घर कसले बनाइ दिने हो,’ सरस्वती भन्छिन् ।

सडक विस्तारका क्रममा डुम्रे बजारको अस्तित्व मेटिने सोही स्थानका ६३ वर्षीय जीवनकुमार श्रेष्ठ बताउँछन् । राजमार्ग विस्तारले घरबारविहीन बनाएको उनले दुखेसो व्यक्त गरे । योजनाले दिएको रकमले घर बनाउन पनि र जग्गा पनि नभएका व्यक्तिलाई राज्यले नै व्यवस्थापन गर्नसके सहज हुने उनको भनाइ छ ।

एकल ज्येष्ठ नागरिकका समस्या समाधान गर्न सरकारले घर भत्काएपछि घर नै उपलब्ध गराउनुपर्ने ४८ वर्षीया एकल महिला बट्टै श्रेष्ठले बताइन् । “घर भत्काएर हामी कहाँ जाने ? घर बनाउन पुग्ने रकम आउँदैन । हामीजस्ता विपन्न र एकललाई समस्या निम्त्याएको छ”, उाले भनिन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी व्यवसायी समिति पूर्वसभापति सरिता श्रेष्ठ पियाले तनहुँ, लमजुङ, मनाङ र गोर्खाको ऐतिहासिक व्यापारिक केन्द्रको संरक्षण राज्यले गर्नुपर्ने बताइन् । पहाडकी रानी बन्दीपुरको ऐतिहासिक व्यापारिक महत्वपूर्ण क्षेत्रको संरक्षणमा सरकारको दायित्व भएको उनले बताइन्।

‘साँगुरिएको क्षेत्रमा बसेको बजारलाई मासिने गरी राजमार्ग विस्तार गर्नुहुँदैन । ऐतिहासिक बजारको संरक्षणका लागि राजमार्ग विस्तारका क्रममा बजार क्षेत्रमा केही कम दूरी बनाएर संरक्षण गर्नुपर्छ,’ उनले भनिन्, ‘कुनामा पहाड र छेउमा खोला रहेकाले डुम्रेको बस्ती हटेपछि सडकको महत्व रहदैन । बजारको संरक्षण गरेरै राजमार्ग निर्माण गर्नुपर्छ ।’

यहाँको बजार विस्थापनले व्यापारिक क्षेत्रको औचित्यको अन्त्य गर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले डुम्रे बजारको संरक्षण गर्ने आश्वासन दिनुभएको छ । हामी विश्वस्त छौँ । सरकारमार्फत नै संरक्षण हुन्छ भन्ने आशावादी छौँ,’ पियाले भनिन् ।

उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइका सभापति हेमलाल विकले राजमार्ग विस्तारले डुम्रे बजारको ऐतिहासिक व्यावसायिक क्षेत्रको अस्तित्व हराउने बताए ।

राजमार्गले डुम्रे बजारमा २५ मिटर विस्तार गर्दा २० देखि २५ घर मात्रै बाँकी रहने उनी बताउँछन् । ‘हामी विकास विरोधी होइनौँ । ऐतिहासिक क्षेत्रको संरक्षण हुनुपर्छ । घरबारविहीन हुने अवस्थामा पुगेका व्यक्तिको संरक्षणको सरकारले जिम्मा लिनुपर्छ,’ विकले भने ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्डका सामाजिक विज्ञ चिन्तामणि शर्माले योजनाले जमिनरहित व्यवस्थापन गर्न लागेको बताए । एकल तथा ज्येष्ठ नागरिकलाई एकदेखि तीन महिनासम्मको घरभाडा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

‘राजमार्ग विस्तारका क्रममा वडा तथा स्थानीय तहसँगको सहकार्य एवं समन्वयमा ज्येष्ठ नागरिक तथा एकल व्यक्तिको व्यवस्थापन गर्ने योजना बनाएका छौँ”, शर्माले भने, ‘त्यस्ता व्यक्तिको हकमा स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन र विकास निर्माणका कार्य अगाडि बढाउनेछौँ ।’

तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले घर भत्काउँदा लाग्ने खर्च व्यक्तिले नै व्यवस्थापन गर्नुपर्ने बताए। राजमार्ग घरटहरा भत्काउँदा लाग्ने खर्चबाहेक स्थानान्तरणका लागि सोही व्यक्तिले नै गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

ज्येष्ठ नागरिक तथा एकल भएको खण्डमा उनीहरुलाई थप रु २१ हजार व्यवस्था गरिएको छ । प्रशासन तथा सरकारले बनाइदिने अहिलेसम्म प्रावधान छैन ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याबिन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा राजमागृ विस्तार गरेर चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको राजमार्ग बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सिंहदरबारभित्र रहेका पुराना सवारीसाधन लिलाम विक्री गर्न निर्देशन Read Previous

सिंहदरबारभित्र रहेका पुराना सवारीसाधन लिलाम विक्री गर्न निर्देशन

सीवाइसी लघुवित्तको सेयर कारोबार फुकुवा Read Next

सीवाइसी लघुवित्तको सेयर कारोबार फुकुवा