काठमाडौं । राष्ट्रिय गौरव आयोजना मध्यपहाडी राजमार्ग अन्तर्गत विभिन्न ४ खण्डको कालोपत्र गरिने भएको छ । मध्यपहाडी राजमार्ग आयोजनाले ४ खण्डको ९१ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया अघि बढाएको हो ।
आयोजना निर्देशक हरिकुमार पोखरेलका अनुसार चालु आर्थिक वर्षमा २५३ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ । सोही अनुसार ९१ किलोमिटर सडक कालोपत्रको लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।
आयोजना प्रमुख पोखरेलका अनुसार कास्की खण्डमा ३८ किलोमिटर, सिन्धुली पाटीभन्ज्याङ २१ किलोमिटर, धादिङको कटुन्जे जलजले खण्डमा १० किलोमिटर र धनकुटाको वसन्तपुर हिले खण्डको २२ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।
उक्त खण्डहरूमा कालोपत्रका लागि टेन्डर आह्वान गरी मूल्यांकनको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार यी खण्डहरूमा आउँदो फागुन भित्रै ठेक्का लागि काम सुरू हुनेछ ।
‘हामी सबै खण्डहरूमा कालोपत्रका लागि ठेक्का लगाउने तयारी गरिरहेका छौँ, आउँदो फागुनसम्म ठेक्का लगाउने गरी टेन्डर खोलेका छौँ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।
पहाडी क्षेत्रको २६ जिल्ला जोड्ने १८७९ किलोमिटर लम्बाइको यो आयोजना १५ वर्ष बित्दा समेत निर्माण पूरा हुन सकेको छैन । आयोजना अन्तर्गत हालसम्म १ हजार १५६ किलोमिटर सडक कालोपत्र भएको सडक विभागले जनाएको छ ।
आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको यो आयोजना २०७४/७५ सम्म सम्पन्न गर्ने भनिएको भए पनि अझै पूरा हुन सकेको छैन् । पछिल्लो पटक थपिएको म्याद २०७९/८० सकिन लागे पनि अझै ३५ प्रतिशत काम बाँकी रहेको छ ।
कुन खण्डमा कति बाँकी छ काम ?
यस आयोजनाको दैलेख खण्डमा कालोपत्रको काम भइरहेको छ । रुकुम, जाजरकोट, दैलेख र अछाम जिल्लाका सडक समेट्ने यो सडक निर्माणको काम आगामी आर्थिक वर्षभित्र सकिने दैलेख योजना कार्यलय प्रमुख पुवराज पोखरेलले बताए । उनले आगामी वर्षभित्र यस आयोजनाको सडक कालोपत्र गर्ने काम सबै सकिने बताए ।
कुल ४४० किलोमिटर लामो यो सडक खण्डमा ११० किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । जाजरको र दैलेखमा सडक कालोपत्र गर्ने काम बाँकी रहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा यस योजना अन्तर्गत ८० प्रतिशत काम पूरा हुने र आगामी आर्थिक वर्षमा पुरै आयोजना पूरा गर्ने उनको दाबी छ । हाल यस योजनामा ४ वटा पुल निर्माण भइरहेको छ । ३ वटा पुल निर्माण चालु आवमा सकिने उनले बताए । एउटा पुलको निर्माण आगामी आवमा सकिने उनले बताए । अछाममा थप एक पुलको ठेक्का तोडिएकाले ठेक्का लगाउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार पाउडे, रुमा, कोङ्ग्री, थल पुल बनाउने काम अन्तिम चरणमा रहेको छ । आछामको काथ्रे पुलको भने ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी रहेको हो ।
पालुङटार–गोर्खा खण्डमा कालोपत्रका लागि ठेक्का लाग्ने क्रममा रहेको गोरखा योजना कार्यलय प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । नुवाकोट, धादिङ, गोर्खा, लमजुङ्ग जिल्ला छुने यस खण्डमा नुवाकोटदेखि धादिङ खण्डमा १० देखि २२ किलोमिटर खण्डमा कालोपत्रका लागि टेन्डर हुन बाँकी रहेको उनले जानकारी दिए ।
सो खण्डमा २ वटा पुलको ठेक्का लाग्न बाँकी रहेको छ । धादिङदेखि गोर्खासम्म ३२ किलोमिटर खण्डमा समेत ८ किलोमिटर कालोपत्रका लागि ठेक्का प्रकृया भइरहेको उनले जानकारी दिए ।
यस्तै, मन्थली रामेछाप योजनामा ५ किलोमिटरमा ट्रयाक खोल्न बाँकी रहेको योजना कार्यलय प्रमुख दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार ठेक्काको लागि प्रकृया भइरहेको छ । कुल १४० किलोमिटर सडकमा कालोपत्रको कामका लागि समेत ठेक्काको तयारी भइरहेको उनले जानकारी दिए ।
रेखाङ्कन नै अन्योलमा
आयोजनाको पहिले तोकिएको अवधि सकिएको ६ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने -रेखाङ्कन नै अन्योल छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन रहेको भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएको आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताए।
केही समय पहिलेसम्म कास्कीमा पनि रेखाङ्कनको अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उनको भनाइ छ । आयोजनाअन्तर्गत झण्डैै ४१५ किमी सडक निर्माण र २५ पुल निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । त्यसमध्ये पनि २०५ किमी सडक र १९ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी छ ।
चालु आर्थिक वर्षमा मात्रै ३५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र १३४.५ किमी सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालु आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ ।
मन्त्रिपरिषद्को निर्णयबाट कास्कीमा पर्ने एउटा खण्डमा रेखाङ्कन परिवर्तन भएको छ । भैँसे-ज्याम्दु-मेलबोट-पानीघाट-आन्टीघर-अर्मलाकोट।काली खोला पुल-अमला बिसौनी-लामाचौर-जौबारी-याम्दी पुल खण्डमा सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । सो खण्डको लम्बाइ ३८ किमी छ ।