गति लिँदै सुनकोशी-मरिण डाइभर्सन, डेढ महिनामै खनियो १ किमी सुरुङ

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनका सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण तीव्र गतिमा अघि बढेको छ ।

गत असोज २८ गतेदेखि टनेल बोरिङ मेसिन (टीबीएम)ले खन्न थालिएको सुरुङमार्ग निर्माणले गति लिएको हो । आयोजनाका अनुसार डेढ महिना (मंसिर १७ गतेसम्म)अवधिमा १ किलोमिटर सुरुङ खनिसकिएको छ ।

आयोजना प्रमुख मित्र बरालले हालसम्म १ किमी सुरुङ खनिसकिएको जानकारी दिए । हालसम्म लक्ष्य अनुसार नै सुरुङ खन्ने काम अघि बढेको उनले बताए ।

उनले एक महिनामा ५०० मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले सोभन्दा बढी सुरुङ खनिएको बताए । दैनिक औसतमा १५ देखि २० मिटर सुरुङ खन्ने गरिएको उनले जानकारी दिए ।

१३.३ किमी लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो । सुरूङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले पाएको छ । उक्त कम्पनीले अबको २ वर्ष भित्र सुरु खनिसक्नुपर्नेछ ।

विसं २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको शिलान्यास भएको थियो । सुनकोशी गाउँपालिका ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोशी नदीका करिब ६७ क्युमेक पानीलाई १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिण खोलामा पानी खसाल्ने योजना रहेको छ ।

सुनकोशीको पानी मरिणमा खसाली हालको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लको करिब १ लाख २२ हजार हेक्टर जमिनमा आयोजना मार्फत सिंचाइको सहज पहुँच पुर्याउन सकिने छ । साथै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने छ ।

बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी छ । यस वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

 

 

नबिल बन्यो भारतको एक्जिम बैंकको सदस्यता पाउने पहिलो नेपाली बैंक Read Previous

नबिल बन्यो भारतको एक्जिम बैंकको सदस्यता पाउने पहिलो नेपाली बैंक

उडिरहेको जहाजबाट मोबाइलमा फोन गर्न दिने तयारी Read Next

उडिरहेको जहाजबाट मोबाइलमा फोन गर्न दिने तयारी