काठमाडौं । पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।
सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न मुलुकको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्नसक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ ।
नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहेका होटल एसोसिएसन नेपाल (हान)का पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु मुलुकको पर्यटन क्षेत्रका लागि सुखद् विषय भएको बताए ।
‘विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ,’ उनले भने, ‘हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो ।’उनले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यात्रुको सङ्ख्या बढाउनुपर्नेमा जोड दिए ।
पश्चिमाञ्चल होटल व्यवसायी सङ्घका पूर्व अध्यक्षसमेत रहेका व्यवसायी विप्लव पौडेलले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरा आउने स्वदेशी र विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।
‘मुलुकको अर्थतन्त्रका सूचकांक राम्रो नभएको अवस्थामा, विमानस्थल निर्माण हुनु निकै राम्रो हो,’ उनले भने, ‘विमानस्थल निर्माणले पोखराका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।’
पौडेलले नयाँ विमानस्थल निर्माण भएपछि रात्रिकालीन हवाई उडान पनि हुने र यसले आन्तरिक पर्यटक पनि बढाउनेमा विश्वास व्यक्त गरे । उनले विमानस्थल निर्माण भएपछि पोखराको पर्यटन विकासमा ‘टर्निङ प्वाइन्ट’ बन्नसक्ने उनको भनाइ छ ।
हानका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएपछि पर्यटनको विकासमा नयाँ आयाम थपिने बताए । ‘विमानस्थल सञ्चालनमा आएपछि पर्यटन विकासमा नयाँ आयाम थपिनेछ,’ उनले भने, ‘विमानस्थल निर्माण भएपछि पोखरामा भारतीय पर्यटकहरु उल्लेख्य सङ्ख्यामा बढ्नेछन् ।’
हाल काठमाडौँ ओर्लने ४० देखि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको तथ्याङ्क छ । यीमध्ये ४० देखि ४५ प्रतिशत पोखरा पुग्छन् । यसरी पोखरा नेपालको दोस्रो पर्यटन गन्तव्य रहीआएको छ ।
नेपाल पयर्टन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो १० महिना अथाएत् जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जसमध्ये अक्टोबरमा मात्रै ८८ हजार ५८२ पर्यटक नेपाल आएका छन् ।
कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जनामा सीमित भएको थियो ।
त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।
पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ ।
उक्त विमानस्थल सञ्चालनमा आएको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।
पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरकाे तयारी
नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङ ‘भूमिस्त’ सेवाका लागि बुद्धएयरले क्यानसमक्ष निवेदन दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक साता लामो यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।
उक्त प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ ।
३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।