काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि प्राथमिक साधरण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । सोमध्ये ५ प्रतिशत (२७ हजार कित्ता) सेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत (११ हजार ८० कित्ता) सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
कम्पनीको आइपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।