अघि बढ्यो एमसीसी परियोजना, ३१५ किमी प्रसारण लाइन बनाउन ठेक्का आह्वान

काठमाडौं । चर्चा र विवादका बीच सदनबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढेको छ । विद्युत् प्रसारण लाइन निर्माणका लागि मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले ठेक्का आह्वान गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै एमसीए नेपालले ३१५ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि ३ वटा चरणमा ठेक्का आह्वान गरेको छ ।

कुल ३१५ किलोमिटरमा प्रसारणलाइन निर्माणका लागि ठेक्का आवहान भएको हो । लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा पहिलो चरण (११७ किमी), दोस्रो चरणमा रातमाटे–न्यू दमौली (९० किमी) र तेस्रो चरणमा न्यू दमौली–न्यू बुटवल, न्यू बुटवलबाट भारतीय सीमासम्म (१०८ किमी) रहेका छन् ।

इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ भने ठेक्का पाउने कम्पनीले डिजाइन,सप्लाइ, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ गर्नु पर्नेछ ।

आयोजनाको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । यो आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने योजना रहेको छ । निर्माणको काम २०२८ अगष्टमा सक्ने तयारी रहेको छ ।

यो प्रसारणलाइन काठमाडौं–सिन्धुपाल्चोक–नुवाकोट– धादिङ– मकवानपुर–चितवन–तनहुँ– पाल्पा–नवलपुर–परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्छ। निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ। नेपाल–भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने अपेक्षा छ।

आयोजनामा कुल ८५६ वटा टावर निर्माण गरिनेछ । टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरू काट्नुपर्नेछ । अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढिसकेको छ ।

२२८ मिलियन डलर (२९ अर्ब ६४ करोड रुपैयाँ) प्रसारणलाइन र ११४ मिलियन डलर (१४ अर्ब ८२ करोड रुपैयाँ) सबस्टेसनका लागि खर्च हुने एमसीए–नेपालले जनाएको छ । आयोजनाका लागि सरकारी र निजी गरी ८०० रोपनी जग्गा चाहिने अनुमान गरिएको छ ।

 

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन Read Previous

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

प्राधिकरणको महत्वकांक्षी योजना, तराईमा ४ हजार मेगावाट खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै Read Next

प्राधिकरणको महत्वकांक्षी योजना, तराईमा ४ हजार मेगावाट खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै