काठमाडौं । सर्वसाधारणलाई सेयर जारी गर्ने अनुमति लिनका लागि सेयर धितोपत्र बोर्डमा हाल ७ वटा जलविद्युत कम्पनीहरु पाइपलाइनमा रहेका छन् । उनीहरुका आवेदन उपर विभिन्न चरणमा मूल्याङ्कन भइरहेको धितोपत्र बोर्डले जनाएको छ ।
हाल धितोपत्र बोर्डमा सर्वसाधारणलाई सेयर विक्री गर्नका लागि आवेदन दिने जलविद्युत कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी, बीइबीडी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, लीबर्टी इनर्जी कम्पनी, युनाइटेड इडी मार्डी एण्ड आरबी हाइड्रोपावर, सिङगटी हाइड्रो र माइलुङ खोला जलविद्युत रहेका छन् ।
यी सबै कम्पनीले गरेर कुल १ करोड ३९ लाख ३१ हजार ४ सय ९६ कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्न लागेका हुन् । १०० रुपैयाँ प्रति सेयरको हिसाबले यो भनेको कूल १ अर्ब ३९ करोड ३१ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको सार्वजनिक निष्काशन हो ।

डेढ दर्जन कम्पनीको मूल्य आइपीओभन्दा सस्तो
दोस्रो बजारमा भने जलविद्युतको सेयरको हालत एकदमै नाजुक नै छ । यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको आफ्नो लगानीको अत्यन्तै ठूलो हिस्सा गुमाइसकेका छन् ।
हाल नेप्सेमा ३२ वटा जलविद्युत कम्पनीहरु सूचिकृत छन् । त्यसमध्ये अधिकांशका लगानीकर्ता डुबेका छन् । उदाहरणको लागि, हाल नेशनल हाइड्रोको सेयर ५० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
१०० रुपैयाँ प्रति सेयरमा लगनी गरेका लगानीकर्ताहरुकै लगानी आधा भइसकेको छ । अझ त्यो भन्दा पनि बढिमा लगानी गर्ने लगानीकर्ताहरु थुप्रै छन् ।
हाल नेप्सेमा डेढ दर्जनभन्दा बढी जलविद्युत कम्पनीको कारोबार १०० रुपैयाँ प्रति सेयर भन्दा कम मूल्यमा कारोबार भइरहेको छ ।
अधिकांश संस्थापकहरुले सर्वसाधारणहरुलाई सेयर जारी गर्नुलाई आफ्नो फसेको वा घाटा भएको पैसालाई उठाउने हतियारको रुपमा मात्र लिइरहेको जानकारहरु बताउँछन् । त्यसैले उनीहरु सर्वसाधारणलाई सेयर बेचेपछि कम्पनी चलाउन र त्यसलाई फाइदामा लैजान उदासिन हुन्छन् ।
जलविद्युतमा प्रत्यक्ष नियमन गर्ने संस्था नहुँदा यस्तो भएको जानकारहरु बताउँछन् । त्यसैले लगानीकर्ताहरु यो क्षेत्रमा लगानी गर्न हच्किन थालेका छन् ।
लाभांश नै दिँदैनन्
जलविद्युत कम्पनीहरुको लाभांश पनि आकर्षक छैन । करिब ४ वर्ष अघि नेप्सेमा सूचिकृत भएको बरुण हाइड्रोपावरले हालसम्म ५ प्रतिशत मात्र लाभांश वितरण गरेको छ ।
यसैगरी अपि पावरले हालसम्म ३ पटक लाभांश वितरण गरेको छ । एक पटक ८ प्रतिशत लाभांश वितरण गरेको अपिले दुई पटक ५ प्रतिशत लाभांश वितरण गरेको छ । धेरै वर्ष देखि नेप्सेमा सूचिकृत नेशनल हाइड्रोले हालसम्म कुनै पनि लाभांश वितरण गरेको छैन ।
अत्यन्तै कमजोर नियमनका कारण सम्पूर्ण लगानी नै डुब्ने खतरा र त्यसका अलावा अत्यन्तै न्यून लाभांशका कारण यो क्षेत्रप्रति सेयर लगानीकर्ताहरु उदासिन हुँदै गरेका छन्, जसले माथि उल्लेखित नयाँ सेयरहरुमा थप लगानी चाहिँ किन गर्ने त ? भन्ने गम्भिर प्रश्न खडा गरेको छ ।