८६ प्रतिशतले घट्यो जग्गाको कित्ताकाट, कुन महिना कति टुक्रा पारियो ?

काठमाडौं । चालु आर्थिक वर्षमा जमिनको कित्ताकाटमा भारी गिरावट आएको छ । सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै कारोबारमा मन्दी आएपछि कित्ताकाट घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको ४ महिना (साउन–कात्तिक)मा जग्गाको कित्ताकाट ८५.८६ प्रतिशतले घटेर ३९ हजार ६६७ मा सीमित भएको छ ।

यस अवधिमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ६६७ जमिनको कित्ताकाट गरेर ७८ हजार ७२५ टुक्रा पारिएको छ । गत आवको सोही अवधिमा २ लाख ४२ हजार ४९६ जमिनको कित्ताकाट गरेर ५ लाख ५२ हजार ५१० कायम गरिएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठदेखि देशभर जमिनको वर्गीकरण नभएसम्म कित्ताकाट तथा कारोबारमा रोक लगाएको छ । सरकारले कृषि र गैरकृषि जमिन छुट्याएर मात्र कारोबार तथा कित्ताकाट गनुपर्ने नियमावली लागू गरेपछि कित्ताकाटका साथै कारोबार बढ्न सकेको छैन ।

सहरी क्षेत्रमा भएको जनसंख्या वृद्धि, आवास निमार्णको तीव्र आकांक्षा र भूमाफियाको सक्रियताले जमिनको कित्ताकाट बढ्दै गएपछि त्यसलाइ रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

जसअनुसार स्थानीयतहले २३ मंसिरसम्म जग्गा वर्गीकरण गरिसक्नुपर्ने छ । वित्तीय प्रणालीमा गत वर्षदेखिको तरलता अभाव, नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर लिइने कर्जामा गरेको कडाइले कारोबार बढ्न सकेको छैन । जसको कारण एकतिर सरकारले ठूलो रकम राजस्व गुमाइरहेको छ भने अर्कोतिर कतिपय स्थानमा कित्ताकाटमा सर्वसाधारणले सास्ती बेहोरिरहेका छन ।

सरकारले खेतीयोग्य जमिनको खण्डीकरण भएको भन्दै त्यसलाई नियन्त्रण गर्न २०७४ साउन २६ मा कित्ताकाटमा रोक लगाएको थियो ।

कुन महिना कति टुक्रा कित्ताकाट कति ?

चालु आवको चार महिनामा ४० हजार जमिन कित्ताकाट गरेर ७८ हजार टुक्रा पारिएको छ । सबैभन्दा धेरै भदौमा १० हजार ९२२ कित्ताकाट भएर २१ हजार ८७७ कायम भएको अभिलेख विभागको तथ्यांक छ ।

त्यसपछि कात्तिकमा १० हजार ५४४ कित्ताकाट भएर २२ हजार ३६५ टुक्रा पारिएको छ । यसैगरी, साउनमा ८ हजार ७८५ कित्ताकाट गरेर १५ हजार ३०५ टुक्रा पारिएको छ ।

विभागका अनुसार गत वर्षको साउनमा ७३ हजार १५९ जग्गालाई १ लाख ६५ हजार ७०० टुक्रा, भदौमा ६४ हजार ९४२ जग्गालाई १ लाख ४८ हजार १६८, असोजमा ५५ हजार ४६३ जग्गालाई १ लाख २७ हजार ८०३ टुक्रा पारिएको थियो ।
कात्तिकमा ४८ हजार ९३२ जग्गालाई खण्डीकरण गरी १ लाख १० हजार ८३९ कायम गरिएको थियो ।

चितवन २ मा रविले लिए अग्रता Read Previous

चितवन २ मा रविले लिए अग्रता

रिडी पावरको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

रिडी पावरको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?