गतिविहीन बन्दै पूर्वपश्चिम रेलमार्ग, एक खण्ड बाहेक अरूको काम सुरू हुनै सकेन

काठमाडौं । पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणले गति लिन सकेको छैन । ९ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०१३ मा पूर्वपश्चिम विद्युतीय रेलमार्गको डीपीआर पूरा गरिएको थियो । ९ वर्ष पुग्दा समेत यस रेलमार्गको एक खण्ड बाहेक अन्य खण्डको निर्माण काम सुरू हुन नसकेको छैन ।

९५ अर्ब ५ करोड रुपैयाँ लगानीमा निर्माण पूरा गर्ने योजना सहित रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा ६९ किलोमिटरमा हाल रेलको ट्रयाक निर्माणको काम भइरहेको छ । यस खण्डमा निर्माणले केही गति लिए पनि अन्य खण्डमा अझै काम सुरू हुन सकेको छैन ।

हेटौंडा–निजगढ–भरतपुर हुँदै नवलपरासी खण्ड १३५ किलोमिटरको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । उक्त खण्डको पूर्ण डीपीआरको काम सकिसकेको रेल विभागका सूचना अधिकारी अमन चित्रकारले बताए ।

उनले पूर्वपश्चिम रेलमार्गको कामले गति नलिएको बताए । उनले रेलमार्ग निमार्णले प्राथमिकता पाउन नसकेको र बजेट सुनिश्चिता नभएका कारण गति लिन नसकेको बताए ।

‘काम भएको छैन, निजगढ–बर्दिबासमा ट्रयाक बेड लगाउने काम भइरहेको छ, अरू कतै काम भएको छैन । हालै अर्को डीपीआर बनाएर सकेको छ,’ चित्रकारले चाणक्य पोष्टसँग भने ‘हेटौडाँ–निजगढ–भरतपुर खण्डको हालै डीपीआर भयो, अरू केही भएको छैन ।’

निजगढ–भरतपुर खण्डमा पूर्ण अध्ययन गरी १३६ किलोमिटरमा रेलमार्ग निर्माणको लागि दोस्रो पटक डीपीआर तयार पार्ने काम भएको हो । उक्त डीपीआरमा सबवेबाट रेल लाने गरी अध्ययन भएको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको कारण विगत लामो समयदेखि यस रेलमार्गले गति लिन सकेको थिएन ।

बर्दिबास–निजगढ खण्डमा ६९ किलोमिटरमा हाल रेलको ट्रयाक निर्माणको काम भइरहेको छ । यस खण्डमा १५ वटा पुल निर्माण गर्नुपर्ने मध्ये हालसम्म ११ वटा पुल निर्माण पूरा भएको छ । वार्षिक ८ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको यस रेलमार्गमा गत आवमा ३ वटा पुल निर्माण सम्पन्न भएको थियो ।

पूर्वपश्चिम रेलमार्गको ५ वर्ष

पूर्वपश्चिम विद्युतीय रेलमार्ग ९४५ किलोमिटरमध्ये आव २०७४/७५ मा ३७२ किलोमिटर बर्दिबास–लुम्बिनी खण्ड रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो । जसमा इँटहरी–विराटनगर लिङक समेत गरी काँकडभिटा–बर्दिबास खण्डको २६५ किलोमिटर, २८ किलोमिटर सिमरा–वीरगञ्ज लिंक तथा ४४ किलोमिटर बुटवल भैरहवा–लुम्बिनी लिंक समेत गरी ३ खण्डको डीपीआर गरिएको थियो ।

हेटौंडा–निजगढ–भरतपुर हुँदै नवलपरासी खण्ड १३५ किलोमिटरको सम्भाव्यता अध्ययन सम्पन्न भएको थियो । सो वर्ष १०८ किलोमिटर लामो सिमरा–बर्दिवास खण्ड मध्ये बर्दिबास लालबन्दी ३० किलोमिटर खण्डको २५ किलोमिटरमा रेल्वे ट्रयाकवेड कल्भर्ट तथा पुलहरूको निर्माण सम्पन्न भएको अर्थमन्त्रालयको तथ्यांकले देखाएको छ ।

यस आयोजना अन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ९४५ किलोमिटर को विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको थियो । यस अन्तर्गत बर्दिवास–निजगढको ७० किलोमिटर रेलमार्गको बर्दिबास–लालबन्दी खण्डको २० किलोमिटर क्षेत्रको ट्रयाक बेड मध्ये २५.६ किलोमिटर निर्माण भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा पूर्वपश्चिम रेलमार्ग अन्तर्ग बर्दिबास–लालबन्दी खण्डको ३.५ किलोमिटर ट्रयाक बेड निर्माण सम्पन्न भएको थियो । यस रेलमार्ग अन्तर्गत बर्दिबास निजगढ खण्डमा २०७७ असारमसान्तसम्म ३३.५ किलोमिटरमा ट्रयाक बेड निर्माण भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ९ किलोमिटरमा थप ट्रयाक बेड निर्माण भएको थियो । यसरी २०७७/७८ सम्ममा ४२.५ किलोमिटर सडकमा ट्रयाक बेड निर्माण भएको थियो ।

सो वर्ष चितवन निकुञ्ज क्षेमा पर्ने निजगढ–हेटौंडा–भरतपुर–अमरापुरी खण्ड १३६ किलोमिटरको वैकल्पिक रुटको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको थियो । २०७८/७९ मा पुर्वपश्चिम रेलमार्ग अन्तर्गत बर्दिबास निजगढ खण्डमा १.५ किलोमिटर मात्र ट्रयाक बेड निर्माण भएको थियो । यसअघिसम्म ४९ किलोमिटर ट्रयाक बेड निर्माण भएको थियो ।

यसरी आर्थिक वर्ष २०७८/७९ मा ४०.५ किलोमिटर ट्रयाक बेड निर्माण भएको थियो । नेपालमा पहिलो पटक सन १९२७ मा भारतको रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म रेल सञ्चालन भएको थियो । रेल विभागका अनुसार ४८ किलोमिटर दूरीको सो रेल सेवा निरन्तर ३३ वर्ष चलेर बन्द भएको थियो । त्यस्तै सन १९३७ मा भारतको जयनगरबाट नेपालको जनकपुरसम्म चलेको रेल केही वर्ष बन्द भएपछि अहिले पुनः सञ्चालनमा आएको छ ।

 

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने Read Previous

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

बढी टिकट काटेर यात्रु अलपत्र पार्ने निगमलाई सोधियो स्पष्टीकरण Read Next

बढी टिकट काटेर यात्रु अलपत्र पार्ने निगमलाई सोधियो स्पष्टीकरण