नेपालमा साढे ६ हजार व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

काठमाडौं । नेपालमा कुल ६ हजार ४८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग) ले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो ।

सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र ९१४ वटा भैँसीपालन फार्म रहेका छन् । त्यस्तै, ४३ वटा राँगापालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा/च्याङ्ग्रापालन फार्म, पाँच सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।

यो सर्वेक्षणले नेपालमा गाई/भैँसीपालन (मिश्रित) फार्म ४८३ वटा, बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म एक सय ९८ वटा र गाई/भैँसीपालन तथा बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म दुई सय ६५ वटा रहेको देखाएको छ ।

यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् एक हजार दुई सय ७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् ४चार वटा फार्म रहेको पाइएको छ । सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार ८७३ वटा गाईरगोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाई/गोरुको सङ्ख्या ३३ हजार सात सय ५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरुमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार तीन सय ८० (६३ प्रतिशत) र नौ हजार एक सय चार (३७ प्रतिशत) रहेको छ ।

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् नौ हजार तीन सय ६४ वटा गाईरगोरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात् दुई हजार दुई ७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगा/भैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगा/भैँसीको सङ्ख्या २४ हजार ४४७ (७१ प्रतिशत) रहेको छ ।

यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार ८४१ (६१ प्रतिशत) र छ हजार ९३१ (३९ प्रतिशत)रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार ४६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् एक हजार छ सय ३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

सर्वेक्षणले नेपालमा जम्मा एक लाख ५० हजार पाँच सय ६८ वटा बाख्रा, ८८ हजार ४२१ वटा भेडा र ३८ हजार तीन सय ६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ । प्रतिवेदनअनुसार १५ हजार तीन सय ८० वटा दूध दिने गाई चार करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन भएको देखाएको छ ।

यसैगरी व्यावसायिक फार्म बाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । यो सर्वेक्षणको लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

 

चुनावले बढायो हवाई कम्पनीको व्यापार, अकुपेन्सी ९० प्रतिशत Read Previous

चुनावले बढायो हवाई कम्पनीको व्यापार, अकुपेन्सी ९० प्रतिशत

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्त घाटामा, यस्तो छ वित्तीय अवस्था Read Next

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्त घाटामा, यस्तो छ वित्तीय अवस्था