काठमाडौं । अरुण काबेली पावरको खुद नाफामा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २८.०४ प्रतिशतले घटेको छ ।
असोज मसान्तसम्म कम्पनीले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ४ करोड रुपैयाँ कम हो । कम्पनीले गत वर्षको असोजसम्म १३ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी बढे पनि संचालन नाफा घट्दा र प्रशासनिक खर्च बढ्दा कम्पनीको नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी ३.११ प्रतिशतले बढेर २७ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको संचालन नाफा भने ९.७७ प्रतिशतले घटेर २२ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । हाल १ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ३० करोड ८० लाख रुपैयाँ संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि ११६.२१ रुपैयाँ छ ।