निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका ७ उतारचढाव

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय भएको २७ वर्ष भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अघि सारिएको उक्त विमानस्थल ३ दशकमा पनि अझै बन्ने/नबन्ने अन्योलमै छ ।

यद्यपि, विमानस्थल निर्माणका केही प्रक्रिया अघि बढे पनि त्यसले सार्थकता पाउन सकेको छैन । सरकारको हरेक नीति तथा कार्यक्रममा समावेश हुने र चुनावको बेला राजनीतिक दलको मुख्य एजेन्डा बन्ने गरे पनि हालसम्म विमानस्थल निर्माणले ठोस मार्ग पहिल्याउन सकेको छैन ।

निजगढ विमानस्थल केबल सस्तो लोकप्रियताका लागि नारा मात्रै बन्दै आएको छ । ठोस योजना तथा कार्यक्रम बिनै घोषणा भएको यस विमानस्थल निर्माणको मोडल, स्रोत सुनिश्चितता लगायत मुख् कुरा टुंगिएको छैन ।

राजनीतिक खपतको अस्त्र बनेको यस विमानस्थल कहिले बन्छ या बन्दैन ? त्यो टुंगो लाग्न अझै कति दशक बिताउनु पर्ने हो, अनिश्चित छ । ३ दशकमा विमानस्थल निर्माणका लागि भएका मुख्मुख्य घटनाक्रम यहाँ चर्चा गरिएको छ ।

१. नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलमा एअर ट्राफिक चाप बढ्दै जाने तथ्यलाई ध्यानमा राखेर छैठौं योजना (आव २०३६/३७) ले नै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना समेटेको थियो । त्यसबेला कुनै काम अघि नबढे पनि २०५१ सालदेखि यसको चर्चा सुरू भएको थियो । तत्कालीन सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको हो ।

२. २०५१ मा  नेपिको/आइराड नामक कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालका विभिन्न ८ स्थानमा अध्ययन गरेको थियो । विराटनगर, भरतपुर, निजगढ, नेपालगन्ज, धनगढी, सुर्खेत र भैरहवाको अध्ययन गरिएकोमा निजगढलाई छनोट गरियो ।  यसको विस्तृत सम्भाव्यता अध्ययन २०६६/६७ मा कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले सम्पन्न गर्यो ।

३. नेपाल सरकार मन्त्रिपरिषद्ले २०६४ साल फागुन ११ मा निजी क्षेत्रको लगानी बुट मोडलमा निर्माण गर्ने निर्णय गर्यो । त्यसपछि पर्यटन मन्त्रालयले कोरियाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लू) सँग २०६६ फागुन २३ मा विस्तृत सम्भाव्यता अध्ययन गर्न सम्झौता गरेको थियो । यो कम्पनीले २०६८ साउन १७ मा प्रतिवेदन बुझायो ।

४. २०७१ सालमा प्रस्तावित विमानस्थलको चार किल्ला तोक्ने काम भयो । आयोजनाले राष्ट्रिय गौरवको मान्यता पाएपछि पहिलोपटक आर्थिक वर्ष २०७१/७२ मा बजेट प्राप्त गर्यो । त्यस वर्ष ५० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यो रकम जग्गा अधिग्रहणका लागि छुट्याइएको थियो ।

५. आव २०७२७३ मा पुनः ५० करोड बजेट विनियोजन  गरियाे। सो वर्षसमेत निजगढको बजेट फ्रिज नै भयो । आव २०७३/७४ मा भने बजेट बढाएर १ अर्ब पुर्याइयो । उक्त आवबाट बजेट खर्च हुन थालेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको लागि कोरियन कम्पनी एलएमडब्ल्यूले डिटेल फेजिबिलिटी स्टडी रिपोर्ट तयार पारिएको थियो । कुल १२ बिगाहा ४ कठ्ठा १९ धुर क्षेत्रफल जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा ल्याई मुआब्जा वितरण गरिसकिएको अर्थमन्त्रालयको वार्षिक सर्वेक्षणले देखाएको छ ।

विमानस्थल भित्र पर्ने वन क्षेत्रको जग्गा हस्तान्तरणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सम्पन्न भएको र जग्गा प्राप्ती तथा विकासको लागि काठघाट क्षेत्रको निजी घरजग्गा ११० बिगाहा ३ कठ्ठा धुर अधिग्रहरण प्रक्रियामा सुरू गरिएको थियो ।

६. आर्थिक वर्ष २०७५/७६ मा उक्त विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेलन स्वीकृत गरियो । विमानस्थलका लागि आवश्यक पर्ने ११० बिगाहा जग्गा मध्ये ६५ बिगाहा जग्गा अधिग्रहण गरिएको थियो ।

सुरूका २ वर्ष निकै प्राथमिकताका साथ चर्चामा आइरहेको यस विमानस्थल निर्माणका लागि सरू भएको अधिग्रहण २०७६/७७ मा पुगेपछि सेलाएको थियो । सो वर्ष केही प्रगति भएको थिएन । आर्थिक वर्ष २०७७/७८ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य अघि बढाइएको थियो ।

७. २०७८/७९ मासर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्न आदेश दिएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले विज्ञ टोली गठन गर्यो । उक्त टोली समूहले अध्ययन प्रतिवेदन तयार पारी प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष थियो ।

ट्रान्जिट विमानस्थलका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा विकास गर्न लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिए पनि रुख कटानदेखि सुकुम्बासी वस्तीका कारण अझै अघि बढ्न सकेको छैन । पहिलो चरणमा करिब डेढ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा एकातर्फ लगानी जुट्न सकेको छैन ।

हालसम्म आइपुग्दा यस आयोजनामा १ अर्ब ११ करोड रुपैयाँ बढी खर्च भइसकेको आयोजना प्रमुख विजय यादवले जानकारी दिए ।

 

पेट्रोलियम पदार्थको खपतमा ठूलो गिरावट, यस्ता छन् कारण Read Previous

पेट्रोलियम पदार्थको खपतमा ठूलो गिरावट, यस्ता छन् कारण

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी