काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य दुई सडक ४ लेनमा विस्तार गरिने भएको छ । बढ्दो सवारी चापलाई मध्येनजर गर्दै भक्तपुर-धुलिखेल सडक र नागढुंगा-मुग्लिन सडकलाई ४ लेनमा विस्तार गर्न लागिएको हो ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ४ लेनमा स्तरोन्नति गर्न लागिएको हो । त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिनसम्मको सडक ४ लेनमा विस्तार गर्न लागिएको हो ।
सूर्यविनायक-धुलिखेल सडक नेपाल सरकारको आफ्नै आन्तरिक स्रोतबाट विस्तार गर्न लागिएको हो भने नागढुंगा-मुग्लिन सडक एशियाली विकास बैंकको ऋण सहयोग र सरकारको लगानी रहने छ ।
नागढुंगा-मुग्लिन सकड विस्तारका लागि ३ खण्डमा विभाजन ठेक्का समेत लगाइसकिएको छ । त्यस्तै, सूर्यविनायक-धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
दुवै सडक ४ लेनमा विस्तार गर्दा करिब २२ अर्ब खर्च हुने जनाइएको छ । नागढुंगा-मुग्लिन सडकको ३ खण्ड विस्तारका लागि ११ अर्ब ४४ करोडमा ठेक्का लगाइएको छ । त्यस्तै, भक्तपुर-धुलिखेल सडक विस्तार गर्न १० अर्ब खर्च हुने अनुमान छ ।
नागढुंगा मग्लिन सडकको ठेक्का पूरा
काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–मुग्लिन सडकलाई ३ खण्डमा विभाजन गरी ११ अर्ब ४४ करोड रुपैयाँमा ठेक्का लगाइएको छ ९५.८०२ किलोमिटर लामो नागढुंगा–मुग्लिन सडकलाई पहिलो खण्ड नागढुंगा–नौबिसेसम्म, दोस्रो खण्ड नौबिसे–मलेखुसम्म र तेस्रो खण्ड मलेखु–मुग्लिन गरी ३ भागमा विभाजन गरिएको छ ।
नागढुंगा–नौबिसे (पहिलोखण्ड) १२.२६ किलोमिटर सडक विस्तारको ठेक्का एमएस जियाङसु–सगुन जेभीले पाएको छ । सो कम्पनीले उक्त सडक विस्तारका लागि १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएको हो ।
त्यस्तै, नौबिसे–मलेखु (दोस्रोखण्ड) ४३.५४२ किलोमिटरको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले पाएको छ । उक्त कम्पनीले ५ अर्ब ३३ करोड १९ लाखमा उक्त ठेक्का पाएको हो ।
तेस्रोखण्ड (मलेखु–मुग्लिन) ४० किलोमिटर लामो सडक विस्तारका लागि शर्मा–जेडआईसीजी ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । शर्मा ज्वाइन्ट भेन्चरले ४ अर्ब ८० करोड रुपैयाँमा सडक विस्तारको ठेक्का पाएको हो ।
नागढुंगा–नौबिसे खण्ड ४ लेनमा विस्तार गर्न लागिएको हो । सडक विस्तारका क्रममा सर्भिस लेन निर्माण गरिने छ । नागढुंगा–मुग्लिन खण्डमा २१ वटा ४र४ लेनको पुल निर्माण गरिनेछ । आयोजना अन्तर्गत १० वटा आकासे पुल पनि निर्माण गरिने छ ।
सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक रामहरी पोखरेलका अनुसार आयोजनामा निर्माणको काम चुनावपछि मात्र सुरू हुनेछ । उनले दुई वटा खण्डमा निर्माण सुरू भइसकेको भन्दै यस खण्डमा भने चुनावपछि मात्र निर्माण सुरू गरिने बताए ।निर्माण कम्पनीले ३ वर्षभित्र यस खण्डको विस्तारको काम सक्नुपर्ने छ । यसैगरी निर्माण सम्पन्न भएको ५ वर्षसम्म सडक मर्मतसंभारको काम निर्माण कम्पनी आफैले गर्नुपर्नेछ ।
नागढुंगा चेकप्वाइन्टबाट सुरू भएर चितवनको मुग्लिनसम्मको सडकले काठमाडौं, धादिङ र चितवान गरी ३ जिल्लालाई समेट्नेछ । सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले यो सडकमा विस्तारसँगै सुधारका काम बढी हुने आयोजनाले जनाएको छ ।
सूर्यविनायक-धुलिखेल सडकको ठेक्का प्रक्रियामा
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्न झण्डै साढे १० अर्ब खर्च हुने भएको छ ।
सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत पहिलोखण्ड साँगा– धुलिखेलखण्डको ठेक्का आह्वान भएको छ । यसको निर्माणका लागि झन्डै ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार अन्तर्गत पहिलो खण्ड साँगा धुलिखेल सडक विस्तारका लागि ठेक्का आह्वान भई अहिले आवेदन मूल्यांकनको क्रममा रहेको छ ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले भदौ १५ गते गरेको बोलपत्र आह्वान गरेकोमा ५ कम्पनीले आवेदन दिएका छन् । आयोजनाका अनुसार उक्त सडक विस्तार गर्नका लागि ४ अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको थियो ।
यस्तै, दोस्रो खण्ड सूर्यविनायक–साँगा खण्ड विस्तारका लागि आयोजनाले बोलपत्र आह्वान गरेको छ । जापानी सहयोग नियोग जाइकाले हात झिकेपछि नेपाल सरकारले आन्तरिक स्रोतबाटै यस सडक अगाडि बढाउने निर्णय गरेको थियो । अर्थमन्त्रालयले स्रोत सुनिश्चिता गरेपछि सो खण्डको पनि ठेक्का आह्वान गरिएको आयोजनाले जनाएको छ ।
ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मा समेत लिनु पर्नेछ । गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । साथै बीचमा ३ मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा छ ।
आयोजनाका अनुसार काठमाडौंबाट जाने लेन नयाँ वाल लगाएर बनाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने छ ।केही समय अघि तयार पारिएको सूर्यविनायक–धुलिखेल सडक विस्तारको विस्तृत परियोजना प्रतिवेदन अनुसार ६ लेनमा विस्तार गर्न ९ अर्ब रुपैयाँ लागत लाग्ने निष्कर्ष निकालेको थियो । तर पछि डिजाइनहरू थोरै परिवर्तन हुँदा ९० करोड रुपैयाँ लागत थपिने भएको हो ।
यो सडक ४ देखि ६ लेनमा विस्तार भएपछि काठमाडौंबाट सिधै तराईका लागि आवतजावत गर्ने सवारीका लागि सहज हुनेछ । यस सडक हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँहरूमा सवारी चल्दै आएको छ । सवारीको उच्च चाप भएको यस नाका विस्तार पछि सो खण्ड हुँदै यात्रा गर्ने लाखाैं यात्रु लाभान्वित हुनेछन् ।