काठमाडौं । सेयर बजारमा आउन चाहने रियल सेक्टर (वास्तविक क्षेत्र)का कम्पनीहरूको संख्या बढ्दै गएको छ । हाल सेयर बजारमा रियल सेक्टरका १ दर्जनभन्दा कम कम्पनी रहे पनि पछिल्लो समय नियामक निकायले गरेको सहजीकरण र प्रोत्साहनले गर्दा सेयर बजारमा आउन चाहने कम्पनीको संख्या बढ्न थालेको छ ।
पूँजी बजारको दायरा विस्तार गर्न सरकारले गरेको नीतिगत प्रयासहरूले रियल सेक्टरका कम्पनीहरूको आकर्षण बढेको हो । रियल सेक्टरका कम्पनीको हिस्सा बढाउन सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत प्रोत्साहन र बाध्यकारी व्यवस्थाहरू गरेको छ । सरकारले बजेटमार्फत वार्षिक ५ अर्ब बढीको कारोबार गर्ने, १ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी भएको, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी र राज्यबाट अनुदान, सहुलियत तथा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूले आइपीओ निष्काशन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
उक्त नीतिगत व्यवस्थाले एक सयबढी रियल सेक्टरका कम्पनीहरू बजारमा आउने अनुमान गरिएको छ । पछिल्ला केही वर्षयता रियल सेक्टरका कम्पनी बजारमा आउन ठप्पप्रायः भएका भएका थिए । तर, एकवर्षकै अवधिमा एकदर्जन बढी कम्पनीले निष्काशनका लागि आवेदन दिएका छन भने केही कम्पनीहरू प्रक्रियामा छन ।
हाल रियल सेक्टरका डेढ दर्जन बढी कम्पनीले सेयर बजारमा आउने प्रक्रिया अघि बढाइसको छन् । तीमध्ये ८ कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेका छन् ।
बोर्डका अनुसार कात्तिक तेस्रो सातासम्म रियल सेक्टरका ८ कम्पनीले आइपीओ निष्काशनका लागि आवेदन दिएका छन् । घोराही सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, रिलायन्स स्निपिङ मिल्स, सोनापुर मिन्रल्स, डिश मिडिया नेटवर्क, ट्रेड टावर र रिपब्लिका मिडियाले आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।
आवेदन दिएकामध्ये केही कम्पनीले बुकबिल्डिङ विधि मार्फत आइपीओ निष्काशन गर्ने प्रस्ताव गरेका छन भने केहीले अंकित मूल्य १०० रुपैयाँमै निष्काशन गर्ने भएका छन ।
सेयर बजारमा रियल सेक्टर आउन चाहनु सकारात्मक
रियल सेक्टरका कम्पनीहरू बजारमा आएमात्र पूँजी बजार अर्थतन्त्रको ऐना बन्ने सेयर बजारका जानकारहरू बताउँछन् । ‘आर्थिक क्षेत्रको सबै पाटो समेट्न रियल सेक्टरको बजारमा हिस्सा बढ्नुपर्छ । जसको लागि बोर्डले पनि पहले गरेको देखिन्छ,’ पूँजी बजारका एक विश्लेषकले भने, ‘पछिल्लो एक वर्षयता कम्पनीहरूको संख्या बढ्दै गएको छ । यो लगानीकर्ता र बजारका लागि सकारात्मक विषय हो ।’
इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छाोटेलाल रौनियार रियल सेक्टर बिनाको पूँजी बजार पूँजी बजार नहुने भएकाले यस्ता क्षेत्रको कम्पनी आवश्यक रहेको बताउँछन् ।
‘नेपाली सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको बाहुल्यता छ । नगन्य मात्रामा वास्तविक क्षेत्रका कम्पनीहरू छन । अर्थतन्त्र र सेयर बजारको विकासका लागि यस्ता कम्पनीहरू बजारको दायरामा आउनु जरुरी छ,’ उनले भने, ‘धितोपत्र बोर्डको नीति तथा बुकबिल्डिङ लगायतका प्रक्रिया मार्फत आइपीओ जारी गर्न दिँदा कम्पनीको आकर्षण बढ्छ । पछिल्लो केही समय यता रियल सेक्टरका कम्पनी आउनेक्रम बढेको छ । तर, यत्रिले मात्र हुँदैन । यसको विकासमा बोर्ड लगायत सबैको धयान जान आवश्यक छ, त्यसपछि मात्र बजारको विकास हुन्छ ।’
सेयर बजारमा बैंकिङ, इन्स्योरेन्स, हाइड्रो क्षेत्रका कम्पनीको बाहुल्यता रहेको छ । अर्थतन्त्रको ऐना भनिए पनि रियल सेक्टरका कम्पनीको अनुपस्थितिले बजार त्यस्तो बन्न सकेको छैन । बजारमा रियल सेक्टरका कम्पनीको हिस्सा न्यून र त्यसमाथि कम्पनी डुबेका कारण लगानीकर्ताको सम्पत्ति पनि बन्धक भएको छ । जसको कारण बजारमा आउन रियल सेक्टरका कम्पनीहरू अझै सशंकित छन ।
अर्कोतर्फ पूँजी बजारको नियाम निकाय नेपाल धितोपत्र बार्डले बुकबिल्डिङ प्रक्रिया मार्फत सेयर जारी गर्न दिएर कम्पनीहरूलाई आकर्षण गर्ने नीति लिएको बताएपनि त्यो अघि बढउन सकेको छैन ।
बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुङगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा संलग्न भएपछि निलम्बनमा परेका थिए । त्यसयता अध्यक्ष बनेका रमेशकुमार हमालले बुकबिल्डिङ विधि मार्फत सेयर निष्काशनको प्रक्रिया अघि बढाउने बताँउदै आएका छन । तर, अघि बढ्न भने सकेको छैन । सोही कारण यस विधि मार्फत आइपीओ निष्काशन गर्ने कम्पनीको अवधि लामो भएको छ ।
कुन कम्पनीले कति कित्ता सेयर जारी गर्दैछन् ?
घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता ४०० र सर्वसाधारणका लागि ४३५ रुपैयाँ प्रिमियमसहित मूल्यमा सेयर निष्काशन गर्ने भएको हो ।
यस्तै, मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रुपैयाँ बाराबरको ४ लाख कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको छ । सर्वोत्तम सिमेन्टले बुकबिल्डिङ प्रक्रिया मार्फत २४ लाख कित्ता सेयर आइपीओ गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको मूल्य ५०० देखि साढे ७५० रुपैयाँसम्म प्रस्ताव गरेको छ ।
यसैगरी, रिलायन्स स्निपिङले बुकबिल्डिङ मार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको मूल्य ६०८ देखि ९१२ को रेन्चमा रहने जनाएको छ ।
सोनापुर मिन्रल्सले १ अर्ब २ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको १ करोड २ लाख ३० हजार २ सय कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको छ । यसैगरी, डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर जारी गर्ने भएको छ ।
ट्रेड टावरले ११ करोड ५८ ला ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता, र रिपब्लिका मिडिया ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता बराबरको आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ ।