मध्यपहाडी लोकमार्ग : चुनावको बेला तात्ने, अरू बेला सेलाउने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निमार्ण सुरू भएको डेढ दशक बिते पनि अझै सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको यो आयोजना १० वर्षभित्र पूरा गर्ने भनिएको थियो । तर, तोकिएकोभन्दा ५ वर्ष बढी समय बिते पनि अझै करिब एकतिहाई काम बाँकी छ ।

सरकार र राजनीतिक दलहरूले हरेक पटक चुनावी नारा बनाए पनि अझै आयोजनाले पूर्णता पाउन सकेको छैन । यो सडक निर्माण सुरू भए यता ४ वटा चुनाव सम्पन्न भइसकेका छन् । हरेक पटक राजनीतिक दलले यो सडक निर्माण गर्ने घोषणापत्रमा उल्लेख गर्छन् । तर, प्रभावकारी अनुगमन नहुँदा, ठेकेदारलाई जिम्मेवार बनाउन नसक्दा, बजेट अभाव, कामदार अभाव लगायत कारणले अझै सम्पन्न हुन सकेको छैन ।

सडक आयोजना पूरा गर्ने बाचा गर्दै सत्तामा पुगेपछि दलहरूले आफ्नो प्रतिबद्धता बिर्सिँदा आयोजनाले गति पाउन नसकेको हो । सरकारको दृढ इच्छा शक्तिको अभाव र प्राथमिकतमा नपर्दा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको हो । अन्य आयोजना जस्तै समयमै पूरा नहुने रोगबाट यो आयोजना पनि ग्रसित छ ।

पहाडी क्षेत्रको २६ जिल्ला जोड्ने १८७९ किलोमिटर लम्बाइको यो सडक १५ वर्ष बित्दा समेत निर्माण पूरा हुन सकेको छैन ।

अझै ३५ प्रतिशत काम बाँकी

यस सडकको अझै ३५ प्रतिशत काम बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद १ वर्षभन्दा कम बाँकी रहे पनि काम भने एकतिहाई बढी बाँकी छ ।

हालसम्म यस आयोजनामा ६४.१६ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय तर्फ ६९.७९ प्रतिशत अर्थात् ५८ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । कुल १ हजार ८७९ किलोमिटर सडक मध्ये हालसम्म १३१३ किलोमिटर सडक कालोपत्र भएको तथ्यांकले देखाएको छ ।

यस्तै, १३७ पुल मध्ये ९३ वटा पुल सम्पन्न भइसकेको छ । ४१५ किलोमिटर सडक र २५ वटा पुल निर्माणाधीन अवस्थामा रहेको छ । २०५ किलोमिटर सडक र १९ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।

पछिल्लो पटक थपिएको म्याद अब १ वर्ष मात्र बाँकी रहेको छ । सुरूवाती चरणमा २०७४/७५ सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको थियो । सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९/८० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको थियो । सो अनुसार अब निर्माण सम्पन्न म्याद सकिन १ वर्ष बाँकी रहेको छ ।

१ वर्षको अवधिमा बाँकी रहेको एकतिहाई काम सम्पन्न गर्न असम्भव जस्तै छ । बाँकी काम पूरा गर्न फेरि म्याद थप्नुपर्ने देखिन्छ ।

लागत तेब्बरले वृद्धि

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) बाट ऋण लिएर बनाइँदै गरेको यस सडक समयमै निर्माण पूरा नहुँदा लागत तेब्बरले वृद्धि भएको छ । सुरूमा यस आयोजनाको लागत ३३ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हालसम्म आइपुग्दा लागत बढेर ८४ अर्ब बढी नाघेको छ ।

कामको गति हेर्दा अझै पनि यस सडक आयोजना पूरा हुन वर्षौं लाग्ने देखिएकाले लागत अझै बढ्ने देखिन्छ । यस आयोजनाका लागि हालसम्म ५५ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ ।

हरेको चुनावको घोषणापत्रमा समेटिने यस सडक अझै कति वटा चुनावी घोषणापत्रमा अटाउने हो, त्यसको कुनै टुंगो छैन ।

 

पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो Read Previous

पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, नाफामा जान थाल्यो, ईपीएस कति ? Read Next

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, नाफामा जान थाल्यो, ईपीएस कति ?