काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । बुधबार एकैदिन ३९ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २९ करोडले घटेर १ अर्बमा सीमित भएको छ ।
बिहीबार नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँ बढीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी साढे ३ करोड र युनाइटेड मोदी हाइड्रोपावर ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ६.९१ प्रतिशत गुमाएका छन् । त्यस्तै, किसान लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।