काठमाडौं । अब एक आपसमा जर्मरमा जाने कम्पनीहरुको साधरण सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने भएको छ ।
बिहीबार नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।
यससँगै मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार महिनौंसम्म रोकिने व्यवस्थाको अन्त्य भएको छ ।यद्यपि, संस्थापक (प्रमोटर) सेयर भने मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार भएपछि मात्र खुल्नेछ ।
हाल मर्जर प्रक्रियामा गएका करिब ३ दर्जन कम्पनीको सेयर कारोबार लामो सयमदेखि रोक्का छ । मर्जरमा गएका कम्पनीले सेयर कारोबार खुलाउन खुलाउन निवेदन दिएसँगै सीडीएससी र नेप्सेले कारोबार खुल्ला गर्ने छन् ।
‘यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोबार रोक्का रहेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको सेयर कारोबार फुकुवा गर्नु पर्ने छ,’ निर्देशिकामा भनिएको छ। जसकोलागि कम्पनीहरूले आधारभूत सेयरधनीको विवरण सहित नेप्से र सीडीएससीमा निवेदन दिनुपर्ने छ।
यसैगरी, कुनै पनि कम्पनी मर्जर वा प्राप्तिमा जान लागेको भए उनीहरूको आधारभूत सेयरधनीको कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ । यसअघि कै व्यवस्था अनुसार कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौता गरेको दिन वा भोलिपल्ट नै आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेमा निवेदन गर्नु पर्ने छ।