काठमाडौं । तमोर करिडोरमा असफाल्ट कंक्रिट (विदेशको जस्तै सडक चिल्लो हुने) प्रविधिबाट कालोपत्र गरिने भएको छ । हाल नेपालमा डीभीएसटी प्रविधिबाट सडक कालोपत्र गरिँदै आएकोमा तमोर करिडोरमा भने असफाल्ट कंक्रिट प्रविधिबाट कालोपत्र गर्न लागिएको हो ।
२३८ किलोमिटर लामो तमोर करिडोरमध्ये पहिलो चरणमा धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्म ११० किमी सडकखण्ड कालोपत्र गर्न लागिएको हो ।
कालोपत्र गर्न लागिएको ११० किमी सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । चतरा–मुलघाट–सुभाङखोलासम्मको (दोस्रो खण्ड)को कालोपत्रे गर्न १ अर्ब ४३ करोडमा एपेक्स कन्स्ट्ररक्सन कम्पनीले ठेक्का पाएको छ । त्यस्तै, पहिलोखण्डको कालोपत्र गर्न रौता-क्षमादेवी जेभीले साढे २ अर्बमा ठेक्का पाएको छ ।
ठेक्का पाएका कम्पनीले ३ वर्षभित्र सडक कालोपत्र गरिसक्नुपर्नेछ । असफास्ट कंक्रिट प्रविधि हालसम्म नेपालको पूर्वी भेगकासडकमा कालोपत्र गरिएको छैन ।
असफाल्ट कंक्रिट प्रविधि विगतमा प्रयोग हुने डीभीएसटी प्रविधिको तुलनामा निकै राम्रो हुने आयोजना प्रमुख कुवेर नेपाली बताउँछन् । उनका अनुसार यो प्रविधिमा हालसम्म पूर्वी भेगका सडक सडकमा कालोपत्र गरिएको छैन । यस प्रविधिले काठमाडौं र तराई क्षेत्रका सडकहरूमा मात्र कालोपत्र गरिएको छ ।
पहाडी क्षेत्रका सडकमा डीभीएसटी प्रविधिबाट मात्र कालोपत्र गर्ने गरिन्छ । यो प्रविधि पहाडी क्षेत्रको सडकमा नयाँ हो । यो डीभीएसटी प्रविधि भन्दा केही महंगो पनि रहेको नेपाली बताउँछन् ।
सुरूको लागत महंगो हुने भएकाले यसको प्रयोग धेरै नगरिने उनले बताए । ‘यो प्रविधिको कालोपत्र डीभीएसटीभन्दा केही महंगो छ, त्यसैले यसलाई कसैले हतपत गर्दैनन्,’ आयोजना प्रमुख नेपालीले चाणक्य पोष्टसँग भने ‘सुरूको लागत खर्चिलो भए पनि रोड लाइफलाई यसको राम्रो हुन्छ ।’
असफाल्ट कंक्रिट प्रविधि बाइन्डर र मिनरल एग्रिगेट मिलेर बनेको कम्पोजिट सामग्री हो । जसलाई सँगै मिसाएर तहमा राखेर कम्प्याक्ट गरिएको हुन्छ । यसलाई मेसिन आफैंले कालोपत्र गर्छ । आयोजना प्रमुख नेपालीका अनुसार यो नेपालमा भएको कालोपत्र मध्येको उत्कृष्ट मानिन्छ ।
डीभीएसटी प्रविधिको तुलनामा यो कालोपत्र १० देखि १५ प्रतिशत महंगो हुने उनले बताए । यो महंगो लगानी हुने भएकाले गाडी धेरै गुड्ने ठाउँमा लगाउँदा लागत उठ्ने उनले जानकारी दिए । यस्तो कालोपत्र लगाउँदा विशेष मेसिन मेसिनहरू र दक्ष जनशक्ति चाहिने भएकाले यो महंगो हुने गरेको उनले बताए । यो सडक कालोपत्र गर्न प्रतिकिलोमिटर ५ करोड रुपैयाँ खर्च हुन्छ ।
कुन गुणस्तरीय ?
यो कालोपत्र डीभीएसटीको तुलनामा धेरै टिकालु छ । यसमा गुणस्तर समेत निर्माणका क्रममा प्रविधिबाटै मेन्टेन गरेर हालिने भएकाले यो धेरै समय टिक्ने र गुणस्तरीय हुने नेपाली बताउँछन् ।
यस प्रविधिको कालोपत्र चिल्लो हुने गर्छ । यसले सवारीसाधनको टायरमा कुनै असर नपार्ने हुँदा यात्रा सहज बनाउने गर्छ । डीभीएसटी कालोपत्र मोडहरूमा टिक्दैन र लगाउन पनि गाह्रो हुने गर्छ । तर असफाल्ट कंक्रिट प्रविधिको यो कालोपत्र जस्तो सडकमा पनि टाँसिने र लामो समय टिक्ने उनले बताए ।
डीभीएसटीको कालोपत्र चिसो ठाउँमा लगाउन गाह्रो हुन्छ । असफाल्ट कंक्रिट प्रविधिको कालोपत्र १६०/१७० तापक्रममा बनाउने भएकाले चिसो ठाउँमा समेत सजिलै बस्छ । असफाल्ट कंक्रिट प्रविधिको यो कालोपत्र डीभीएसटी भन्दा छिटो लगाउन सकिन्छ ।
तमोर करिडोरको २३८ मध्ये ११० किलोमिटर खण्ड धनकुटाको मुलघाटबाट पाँचथरको गणेशचोकसम्म कालोपत्र हुन लागेको हो । काम थालेको ३ वर्षभित्रै कालोपत्र पूरा गर्ने गरी रौतह–क्षमादेवी जेभीले ठेक्का पाएको छ । यो कम्पनीले तमोर करिडोर आयोजना अन्तर्गत पर्ने चतरा–मुलघाट–सुभाङखोलासम्मको पहिलो खण्डको कालोपत्र २ अर्ब ४१ करोड रुपैयाँ लागतमा गर्न लागेको हो ।
अहिलेका लागि लुभुघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किमी कालोपत्र हुनेछ । यसमा काम गर्ने निर्माण व्यवसायीले ड्रेनेज, वाल, स्ल्याब तथा कल्भर्ट निर्माण गर्नुपर्नेछ । यो सडक डबल लेनमा विस्तार गरिएको सडक हो ।
आयोजना प्रमुख नेपालीले पहिलो वर्ष (चालु आव) मा १० देखि १५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको बताए । आगामी वर्ष ६० किलोमिटर हाराहारीमा कालोपत्र गर्ने र अन्तिम वर्षम सबै सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।