कालिगण्डकी करिडोरले लिएन गति, अझै ३० किमी सडक र १७० पुलको ठेक्का लाग्न बाँकी

काठमाडौं । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने उत्तर–दक्षिण तथा व्यापारीक मार्ग कालीगण्डकी करिडोर निर्माण सुस्त भएको छ । यस सडक निर्माण सुरु गरिएको डेढ दशक बित्न लागे पनि हालसम्म करिब ४४ प्रतिशत मात्र काम पूरा भएको हो ।

आर्थिक मेरुदण्डको रुपमा लिइएको कालिगण्डकी करिडोर आव २०७३७४ देखि निर्माण सुरु गरिए पनि हालसम्म अपेक्षित गति लिन नसकेको हो । अझै आयोजनाको ५६ प्रतिशत काम बाँकी नै छ ।

४४७ किलोमिटर लम्बाइ रहेको यो करिडोर दुई खण्डमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ । पहिलो खण्डमा गैंडाकोटदेखि पाल्पाको राम्दी, गुल्मीको रिडी हर्मिचौर हुँदै बागलुङको मालढुंगासम्म २४५ किलोमिटर खण्डमा काम भइरहेको छ ।

दोस्रो खण्डमा मालढुंगादेखि मुस्ताङको कोरलासम्म २०२ किलोमिटर खण्डमा सडक विस्तार भइरहेको छ । भारतको ठुटीबारी नाकादेखि पूर्वी नवलपरासीको गैंडाकोटसम्मलाई पनि यही करिडोरको एक खण्डको रुपमा लिइएको छ ।

चाडपर्वका कारण गति लिन नसकेको यस आयोजनाले आगामी दिनमा गति लिने आयोजना प्रमुख शंकर पौडेलले बताए । उनका अनुसार आयोजनाको दोस्रो खण्ड अन्तर्गत २५० किलोमिटर मध्ये १०६ किलोमिटर खण्डमा कालोपत्रे भइसकेको छ । अन्य खण्डमा ट्रयाक खुल्ला गरिसकेको भए पनि विस्तारको काम बाँकी रहेको छ ।

उनले ३० किलोमिटर खण्डमा अझै विस्तारका लागि ठेक्का लाग्न बाँकी रहेको बताए । आयोजना अन्तर्गत बन्ने १७० वटा पुल निर्माणका लागि समेत ठेक्का लाग्न बाँकी नै रहेको छ । पुल निर्माणका लागि भने डीपीआर भइरहेका कारणले चालु आवभित्रै ठेक्का लाग्ने उनले बताए ।

‘१०६ किलोमिटरमा कालोपत्र गरिसकेका छाैं, यो वर्ष पुलको ठेक्का लगाउने तयारीमा छौँ, अहिले डीपीआर तयार भइरहेको छ,’ पौडेलले चाणक्य पोष्टसँग भने ‘यो वर्ष भर्खर चाडपर्व सकेकोले सोचे जस्तो काम गर्न सकेको छैनाैं।’

फलेबासको १७ किलोमिटरमा स्तरोन्नतीका लागि ठेक्का लगाउन बाँकी रहेको हो भने अरगेलीको रानीमहलमा समेत ठेक्का लगाउन बाँकी रहेको छ । यी खण्डहरुमा ट्रयाक खोल्ने काम पूरा भइसकेको उनले जानकारी दिए ।

आयोजना अन्तर्गत हालसम्म ७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो आयोजनाको कुल लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । कुल

पहिलो खण्डको २४५ किलोमिटर सडक मध्ये १३० किलोमिटर सडक सुधार आयोजना अन्तर्गत भारतीय एक्जिम बैंकको ऋणलगानीमा निर्माण भइरहेको छ । ११५ किलोमिटर सडक भने उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले निर्माण गरिरहेको छ ।

गैंडाकोटदेखि राम्दीसम्म पनि भारत सरकारकै ऋण सहयोगमा भारतीय कम्पनी इकेके इन्फ्राइस्ट्रक्चरले कालोपत्र गरिरहेको छ । जसको कुल लागत साढे ५ अर्ब रुपैयाँ छ । गुल्मी खण्डमा शर्मा एन्ड कम्पनी र सगुन जेभी कन्स्ट्रक्सनले ठेक्का पाएको हो ।

गैंडाकोट–राम्दी–मालढुंगा सडक आयोजनाको अवधि २०६६/६७ देखि २०८०/८१ सम्म रहेको छ । चालु आवसहित अबको २ वर्षमा यो खण्डको निर्णय सकिनु पर्नेछ ।

त्यस्तै, कालीगण्डकी करिडोरकै अर्को जोमसोम खण्डमा हालसम्म २८ किलोमिटर सडक कालोपत्र भएको छ । २०२ किलोमिटर कुला लम्बाइ रहेको यो खण्डको सडक आयोजनाको अवधि २०७३/७४ देखि २०७९/८० सम्म रहेको छ ।

कालीगण्डकी नदीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गरिरहेको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्याउने अवधारणा अनुसार २०५७ देखि यो सडक निर्माण प्रारम्भ भएको थियो । करिडोरको ट्रयाक नेपाली सेना र सडक विभागले खोलेका हुन् ।

यस करिडोरले २ प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्नेछ ।

 

माथिल्लो कर्णालीमा जीएमआरको म्याद थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश Read Previous

माथिल्लो कर्णालीमा जीएमआरको म्याद थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

कर्णालीकै पहिलो खाद्य मापन प्रयोगशाला सञ्चालनमा Read Next

कर्णालीकै पहिलो खाद्य मापन प्रयोगशाला सञ्चालनमा