स्वीट्जरल्यान्डले बनायो संसारकै सबैभन्दा लामो यात्रुवाहक रेल

एजेन्सी । स्वीट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड बनाएको छ । गत शनिबार स्वीस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्वीट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार १.९०६ किलोमिटर लामो १०० कोच (डिब्बा) भएको उक्त रेलमा ४ हजार ५५० जना बसेर यात्रा गर्न मिल्छ ।

गत  शनिबार उक्त रेलले स्वीट्जरल्यान्डको हिमाली क्षेत्रमा १ घण्टामा २५ किलोमिटर लामो यात्रा पार गरेको थियो । रेलले ४८ वटा पुल र २२ वटा सुरूङमार्ग पार गरेको थियो। उक्त रेलमा ७ जना ड्राइभर र २१ जना प्राविधिकहरू थिए।

उक्त रेल बनाएको कम्पनी राइतियान रेलवेका सीईओ डाक्टर रेनाटो फासिआतीले स्वीट्जरल्यान्डका हिमाली क्षेत्रमा रेलमा यात्रा गर्दाको सुन्दरता देखाउन पनि यो रेल बनाइएको बताएका छन्।

गिनिज बुकमा रेकर्ड दर्ता भएपछि अब उक्त रेलका डिब्बाहरू निकालेर नियमित रेलमा प्रयोग गरिने छन् । सन् १९९१ मा बेल्जियममा १७३२.९ मिटर लामो र ७० कोच भएको रेल कुदाएर संसारको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड राखेको थियो। उक्त रेल ६२.५ किलोमिटर गुडेको थियो।

सबै प्रकारका रेलहरूमा सबैभन्दा लामो रेलको रेकर्ड चाहिँ अष्ट्रेलियाको नाममा छ। सन् २००१ मा अष्ट्रेलियामा ७.२४ किलोमिटर लामो मालवाहक रेल गुडेको थियो।

मुक्तिनाथमा बुटिक होटल संचालनमा आउँदै Read Previous

मुक्तिनाथमा बुटिक होटल संचालनमा आउँदै

७ पटक म्याद थप्दा पनि बनेन भक्तपुर-नगरकोट सडक, स्थानीयले माटो थुपारेर गरे बन्द Read Next

७ पटक म्याद थप्दा पनि बनेन भक्तपुर-नगरकोट सडक, स्थानीयले माटो थुपारेर गरे बन्द