काठमाडौं । अरुण काबेली पावरले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
कम्पनीले कात्तिक ३० वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा अल्फाबिटा कम्प्लेक्स, काठमाडौँमा हुनेछ।
अरुणले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
यसैगरी, चुक्तापूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेषप्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले यसअघि नै हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
यस्तै, कम्पनीले सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक गते बुकक्लोज तोकेको छ । सो अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।