तिहारमा फूल र माला पाउनै मुस्किल

काठमाडौं । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ ।

टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । ‛घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो’, उनले भने, ‛डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना रित्तै फर्किए ।

चार वर्षअघि १० कठ्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लैजाएको छ । सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिकरुपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन् ।

जानकी गाउँपालिका–४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आए । मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किए । मखमली फूलका माला लगाउने हाम्रो चलन हो, बजारमा पाइन्छ भनेर ढुक्क भएँ, यहाँ त सकिएको रहेछ ’, उनले भने, ‛फूलको नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु, के गर्नु यसअघि प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।’

टीकापुर–३ की रमिता विकले पनि बजारमा माला नपाएको बताइन् । ‛माला नपाएपछि गाउँमै फूल खोज्न थालेकी छु,’ उनले भने, ‛विगतमा गाउँमा फालाफाल फूल हुन्थे, घरघरमा फूल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फूल पाउन कठिन छ ।’

कैलालीमा फूलखेतीका लागि जग्गा अभाव छैन । घर वरिपरि जग्गा हुँदा पनि फूल रोप्ने गरेको पाइँदैन । घरमै फूल रोपेको भए फूलको अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताउछन् । ‛हाम्रा पालामा घर वरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन ’, उनी भन्छन् ‛हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् । ’

तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घरआँगन रङ्ग्याउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ । बजारमा माला र फूल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फूलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका किन्न आएका बताए ।

संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक व्यक्तिले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताउछिन् । ‛घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन् ’, उनी भन्छिन्, ‛घर–घरमै दुई–चार बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फूल किन्ने हामी नेपालीको बानी अनौठो छ । यहाँका फूल सकिएपछि भारतबाट ल्याएर फूल बिक्री गरिँदैछ ।’

ब्याजदर वृद्धिले आकाशियो निर्माणाधिन स्टार होटलको लागत, प्रतिफल अनिश्चित Read Previous

ब्याजदर वृद्धिले आकाशियो निर्माणाधिन स्टार होटलको लागत, प्रतिफल अनिश्चित

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४९ अर्ब,कुनले कति कमाए ? Read Next

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४९ अर्ब,कुनले कति कमाए ?