कमला-पथलैया ४ लेन सडकको डिजाइन अन्तिम चरणमा, यसै वर्ष निर्माण सुरू गरिने

सांकेतिक तस्वीर ।

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक ४ लेन सडकको डिजाइन अन्तिम चरणमा पुगेको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा विस्तार गर्न लागिएको १३० किलोमिटर यस सडकको डिजाइनमा अन्तिम चरणमा पुगेको हो ।

चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने गरी काम भइरहेको यस सडक खण्डको डिजाइन अन्तिम चरणमा रहेको हो । कमला–ढल्केबर–पथलैया सडक विस्तार आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले आयोजनाको फाइनल डिजाइन आगामी डिसेम्बरसम्ममा सकिने बताए ।

‘प्रारम्भिक डिजाइन सकिन लागेको छ । फाइनल डिजाइन डिसेम्बरसम्म सकिन्छ अनि निर्माणको थप प्रकृया अघि बढ्ने छ,’ दासले चाणक्य पोष्टसँग भने ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्ट्राटेजिक रोड कनेक्टिभिटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको हो । राजमार्गको यो खण्डमा नेपाल सरकारको ३० प्रतिशत र विश्व बैंकको ७० प्रतिशत लगानी रहने छ ।

एसियाली राजमार्गको मापदण्डअनुरूप सहरी क्षेत्रमा ६ लेन विस्तार हुने छ । सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँ–बायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एक/एक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारी साधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने सडक विभागले जनाएको छ ।

वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर सडक तथा पुलहरू डिजाइन भइरहेको छ । जम्मा १३० किमी लम्बाइको सडकमा झण्डै ७६ पुल निर्माण हुने छन् । बागमती, बकैया र कमला खोलामा गरी ३ स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने छ ।

प्रतिघण्टा १०० किलोमिटरको दरले सवारी साधन गुड्ने गरी सडक निर्माण हुँदै छ । वस्ती तथा बजार क्षेत्रमा ७५ किलोमिटर प्रतिघण्टा गुड्नसक्ने छ । सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था नभएकाले निर्माण कार्य छिटो सुरू गर्न सकिने भएको विभागले जनाएको छ ।उक्त सडक सन् २०२७ सम्ममा निर्माण गरिने अनुमान गरिएको थियो । यस सडक विस्तारको लागत ६४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सरकारले पूर्वपश्चिम राजमार्गको सबै खण्ड चार लेनमा विस्तार गर्ने गरी प्रक्रिया अघि बढाएको छ । कतिपय खण्डमा निर्माण अघि बढिसकेको छ भने कतिपय प्रक्रियामा छ । विस्तार भइरहेका सबै खण्डको सहरी क्षेत्रमा ‘सर्भिस लेन’ निर्माण गर्ने गरी डिजाइन भएको छ । आरक्षण क्षेत्र आसपासका क्षेत्रमा जनावरमैत्री सडक निर्माण गरिने भएको छ ।

खेतीयोग्य जमिन मासेर बस्ती विस्तार Read Previous

खेतीयोग्य जमिन मासेर बस्ती विस्तार

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता Read Next

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता