काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज,ब्रोकर कम्पनी र वस्तु विनिमय बजार सञ्चालनकाे लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन आदेश दिएकाे छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले एक्सचेञ्ज र नयाँ ब्राेकरकाे लाइसेन्स दिने बाेर्डकाे निर्णय बिरूद्व परेकाे रिटमा सुनुवाइ गर्दै साे प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हाे ।
अधिवक्ता दिपक बिक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाईसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा अदालतले अर्को सुनुवाई नहुँदासम्मका लागि प्रक्रिया अघि नबढाउन बाेर्डकाे नाममा अल्पकालीन अन्तरिम आदेश दिएकाे छ ।
बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरी नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु गरेको थियो । त्यसका लागि धितोपत्र बोर्ड गत असोज २ गते आवेदन मागेको थियो ।
जसमा ब्राेकर लाइसेन्सका लागि एक सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् । अदालतकाे उक्त आदेशसँगै ब्राेकर लाइसेन्स वितरण गर्ने बाेर्डकाे चाहना तत्कालका लागि अबरुद्ध भएकाे छ ।