काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।
बुधबार नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा आइपुगेको छ । यसदिन २१६ कम्पनीको ६४ करोड ३६ लाख रुपैयाँ बढीको २१ लाख ५१ हजार ७१४ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले घटेको छ ।
आज सोल्टी होटलको सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ४ करोडको सेयर किनबेच भएको छ । यसैगरी, नबिल बैंक र रिडी पावर पनि २/२ करोड बढीको सेयर कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । अभियान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य करिब १० प्रतिशतले बढेको छ ।