काठमाडौं । घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । गत वैशाख यता ओरालो लागेको घरजग्गा कारोबार महिनैपिच्छे झन्झन् खस्कँदै गएको छ ।
घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।
एकातिर बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा घरजग्गाका लागि ऋण पाउने अवस्था छैन् भने अर्कोतिर सरकारले कृषियोग्य जमिनको कित्ताकाटमा रोक लगाउँदा टुक्रा जग्गाको अभाव छ । जसकारण घरजग्गा कारोबार प्रभावित हुन पुगेको हो ।
चालु आर्थिक वर्षको असोजमा घरजग्गा किनबेच गत वर्षको सोही अवधिको तुलनामा आधा बढीले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्षको असोजमा ५९ हजार २२७ वटा घरजग्गा किनबेच भएकोमा चालु वर्षको असोजमा घटेर २५ हजार ७८९ वटामा सीमित भएको छ । गत वर्षकोभन्दा यसवर्ष असोजमा घरजग्गा कारोबार ३३ हजार ४३८ वटाले घटेको हो ।
असोजमा चालु वर्षको ३ महिनामै सबैभन्दा कम घरजग्गा किनबेच भएको छ । साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएकोमा असोजमा २५ हजार ७८९ वटामा सीमित भएको छ ।
१ वर्षदेखि कायम तरलता अभाव अझै सहज हुन सकेको छैन । जसकारण घरजग्गामा लगानी गर्न अझै बैंकबाट ऋण पाउने अवस्था छैन ।
यस्तै, सरकारले गत जेठदेखि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएको छ । सो नियमावली अनुसार कृषि र गैह्र कृषि क्षेत्र वर्गीकरण गरी गैह्रकृषि योग्य जग्गा मात्र कित्ताकाट गर्न पाइने व्यवस्था छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेर पछिल्लो चरणमा २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न भनेको छ । तर, तोकिएकै अवधिमा सबै स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सक्ने अवस्था देखिदैन् । जसले अझै केही महिना टुक्रा जग्गा उपलब्ध नहुने देखिन्छ ।
राजस्वमा गम्भीर धक्का
घरजग्गा कारोबार सुस्ताएसँगै राजस्व संकलनमा ठूलो असर परेको छ । गत वर्ष असोजको तुलनामा चालु वर्षमा राजस्व संकलन ६५ प्रतिशतले घटेको छ ।
गत असोजमा घरजग्गा कारोबारबापत ७ अर्ब ३३ करोड राजस्व संकलन भएकोमा चालु आवमा २ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ ।
चालु वर्षकै भदौमा तुलनामा असोजमा राजस्व संकलन १ अर्बले घटेको छ । भदौमा ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठेको थियो भने साउनमा २ अर्ब ७४ करोड संकलन भएको थियो ।
महिनैपिच्छै राजस्व घट्दा सरकारको आम्दानीमा ठूलो धक्का लाग्ने देखिन्छ । गत वर्ष असोजसम्म २० अर्ब बढी राजस्व संकलन भएकोमा चालु आवमा जम्मा ८ अर्ब ८६ करोड मात्र संकलन भएको छ ।
असोजमा यी ठाउँमा भयो धेरै घरजग्गा कारोबार
असोजमा चालु वर्षको ३ महिनामै सबैभन्दा कम घरजग्गा किनबेच भएको छ । साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएकोमा असोजमा २५ हजार ७८९ वटामा सीमित भएको छ ।
असोजमा पवि विगतकै जस्तो तराईका जिल्लाहरूमै धेरै घरजग्गा कारोबार भएको विभागको तथ्यांक्ले देखाएको छ । विभागका अनुसार असोमा सबैभन्दा धेरै घरजग्गा किनबेच मालपोत कार्यालय इनरुवाबाट भएको छ । इनरुवाबाट असोजमा १ हजार १४९ वटा घरजग्गा लिखप पारित भएको छ ।
त्यसैगरी, मालपोत कार्यालय नेपालगञ्जबाट १ हजार २८, जनकपुरबाट १ हजार ४, बेलबारीबाट ८५९, राजविराजबाट ८१७, भद्रपुरबाट ६९१, घोराहीबाट ६७५, तुलसीपुरबाट ६७१, जलेश्वरबाट ६६६, कलंकीबाट ६२० र लगनखेल÷तौलिहवाबाट ६०६ लिखत पारित भएको विभागले जनाएको छ।