२२ वर्षमा पनि पूरा भएन धोबीखोला करिडोर, अझै ३ किमी कालोपत्र गर्न बाँकी

काठमाडौं । निर्माण प्रक्रिया अघि बढाइएको दुई दशक बिते पनि धोबीखोला करिडोर निर्माण अझै सम्पन्न हुन सकेको छैन । अन्तर सरकारी नियकाय समन्यवको अभाव, ठेकेदारको लापारबाही, मुआब्जा विवाद, स्थानीयको अवरोध लगायत कारणले २२ वर्षमा पनि करिडोर निर्माण सम्पन्न हुन नसकेको हो ।

आर्थिक वर्ष २०५६/५७ मा काठमाडौं महानगरपालिकाले करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको थियो । महानगरपालिकाले काम गर्न नसकेपछि सरकारले आव २०६६/६७ मा करिडोर निर्माणको जिम्मा तत्कालीन नगर विकास समिति (हालको काठमाडौं उपत्यका विकास प्राधिकरण)लाई दिएको थियो ।

प्राधिकरणले धोबीखोला करिडोर सुधार आयोजना गठन गरी आयोजनाले पञ्चवर्षीय योजना बनाएर आव २०७२÷०७३ मा सक्ने लक्ष्य राखे पनि करिडोरको लम्बाइ थपिएको भन्दै आव २०७५/७६ सम्म सक्ने लक्ष्य बनाएको थियो । तर, विभिन्न कारण देखाउँदै काम सम्पन्न हुन नसके पछि हाल २०८० असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

धोबीखोला करिडोरको ठेक्का समान्तर/कमलजित/उमा जेभीलाई हस्तान्तरण गरिएको छ । सो ठेक्का कम्पनीले २०७६ जेठ ८ गते ठेक्का हस्तान्तरण गरिएको हो । ठेक्का कम्पनीले २०७८ जेठ १५ सम्म धोबीखोला करिडोर सुधारका काम पूरा गर्न भए पनि २०८० असार मसान्तसम्मका लागि म्याद थप गरिएको हो ।

२४ किलोमिटर (दुईतर्फ गरी)लामो धोबीखोला करिडोर बनाउन थालेको २० वर्ष भयो । बल्ल २१ किलोमिटर सडक कालोपत्र भएको छ । सो मध्ये अब ३ किलोमिटर सडक कालोपत्र हुन कति वर्ष लाग्ने हो, पत्तो छैन । ४ अर्ब ५८ करोड लागत रहेको यो आयोजनामा हालसम्म ३ अर्ब २० करोड भुक्तानी भइसकेको छ  ।

बुढानीलकण्ठ क्षेत्रमा चार किलोमिटर मात्र ढल व्यवस्थापन गरेर बाँकी क्षेत्रको जिम्मा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई दिएको छ । पहिरोका कारण चुनिखेल क्षेत्रमा सडक निर्माण हुन सकेको छैन भने निलोपुलको पूर्वपट्टी पाँच घरजग्गा अधिग्रहण गर्न बाँकी छ । त्यति मात्र होइन, पुलमुनिबाट बनाइएका अन्डरपासको उचाइ पर्याप्त छैन भने केही ठाउँमा अन्डरपासको निकास खुलिसकेको छैन । प्राधिकरणले भने चालू आवमा काम सकिने दाबी गरेको छ ।

उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्त कार्यालयका इन्जिनीयर सजन कुँवरले धोबीखोला करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको छ । उनले यो आर्थिक वर्षमा करिडोरको काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गर्ने योजना रहेको बताए । उनले केही अन्डर पास बाहेक सबै स्थानमा निर्माण सम्पन्न भइसकेको बताए ।

‘अन्डर पासमा १/२ ठाउँमा विकास नभएको हो, त्यो ठेक्का लागि सकेको छ, अब यो आव भित्रै पूरा गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई दबाब दिइरहेका छाैं,’ कुँवरले भने ।

धोबीखोला कोरिडोर निर्माण २ दशक बढी समयमा समेत सम्पन्न हुन सकिरहेको छैन । धोबीखोला कोरिडोर निर्माण प्रक्रिया सुरू भएको २२ वर्ष भइसकेको छ । काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रूपमा धोबीखोला करिडोरको विकास गरिएको हो ।

 

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी धर्नामा उत्रेपछि महासंघ नेतृत्व पुग्यो राष्ट्र बैंक Read Previous

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी धर्नामा उत्रेपछि महासंघ नेतृत्व पुग्यो राष्ट्र बैंक

नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ Read Next

नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ