कात्तिक मसान्तभित्र ३० हजार टन मल आउने, हिउँदे बालीलाई अभाव नहुने

काठमाडौं । भारतसँग जीटूजी(सरकार टू सरकार) सम्झौतामा ल्याउन लागेको ३० हजार टन मल आगामी कात्तिक महिना भित्र आउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त परिणामको मल आयातका लागि भारतलाई पर्चेज अर्डर पठाइएको हो ।

कृषि सामग्री कम्पनीले ल्याउन लागेको मल मन्त्रालयका अधिकारीले बताए । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले ३० हजार टन युरीया मल जीटूजी प्रावधान अन्तर्गत खरिदको लागि भारतलाई पर्चेज अर्डर पठाइएको बताए ।

उनका अनुसार सो मल कार्तिक मसान्तसम्ममा नेपाल आइपुग्ने छ । ‘मल उपलब्ध गराउने भारतीय कम्पनी आरसीएफलाई अग्रीम भुक्तानीको लागि काम भइरहेको छ, मल कार्तिक मसान्तसम्म नेपाल भित्रिने गरी काम भइरहेको छ,’ सन्जेलले भने ।

भारतले ५ वर्षका लागि नेपालमा युरीया मल उपलब्ध गराउने गरी जीटुजी सम्झौता भएको थियो । सो सम्झौता अनुसार पहिलो चरणमा २० हजार टन युरीया मल आउने क्रममा रहेको छ ।

चालु आर्थिक वर्षको असोज २५ गतेसम्म कृषि सामग्री कम्पनीले १ लाख मेट्रिकटन मलको ग्लोबल टेण्डर आह्वान गरेको थियो । जसमध्ये ३० हजार मेट्रिकटन युरीया र ४० हजार टन डीएपी मल ल्याइसकेको छ । बाँकी ३० हजार मेट्रिकटन युरीया मल विशाखापटनम बन्दरगाहमा व्यागिङ्ग भई रेलवे रिसिभको क्रममा रहेको उनले जानकारी दिए ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको २० हजार मेट्रिकटन युरीया मल भारतको विशाखापटनम बन्दरगाहमा नेपालको लागि लोडिङ भइरहेको छ । सो मल असोज ३१ गतेसम्म विरगंज आइपुग्ने जनाइएको छ ।

साल्ट ट्रेडिङले २७ हजार ५ सय मेट्रिकटन युरीया मलको खरिद सम्झौता गरिसकेको छ । सो मल मंसिर पहिलो हप्ता नेपाल आइसक्ने अनुमान गरिएको छ ।

२० हजार मेट्रिकटन डीएपी मल खरिदको लागि टेण्डर भइ खरिद सम्झौता हुने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सो मल मंसिर अन्तिमसम्म नेपाल आइपुग्ने छ ।

देशभर कुल ५ लाख २० हजार मेट्रिकटन रसायनिक मल आवश्यक पर्छ । सरकारले मल आपूर्तिको लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई जिम्मा दिइएको छ ।

उक्त दुवै कम्पनीले वर्षेनी २ लाख टन हाराहारीमा रसायनिक मल आयात गर्ने गरेका छन् । यी कम्पनीहरुले अन्तराष्ट्रिय ठेक्का मार्फत यसरी मल ल्याउन सधै ढिलाइ गर्ने गरेका छन् । जसको कारण किसानले समयमा मल नपाउने समस्या भोग्दै आएका छन् ।

निर्जीवन बीमा कम्पनीले २ महिनामा संकलन गरे ८ अर्ब बीमाशुल्क, मोटर बीमाको हिस्सा धेरै Read Previous

निर्जीवन बीमा कम्पनीले २ महिनामा संकलन गरे ८ अर्ब बीमाशुल्क, मोटर बीमाको हिस्सा धेरै

सेयर बजार सामान्य अंकले बढ्यो, अभियान लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजार सामान्य अंकले बढ्यो, अभियान लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट