बेनी-जोमसोम सडक ६ दिनपछि सञ्चालनमा

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा ६ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।

पहिरो र बाढीका कारण असोज १८ गते रातिदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि सवारी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका निरीक्षक इन्द्रसिंह शेरचनले पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन हुन थालेको जानकारी दिए । म्याग्दीको बैसरी, नौनीबगर, जलथले, गुइठे, रुप्से र काभ्रेभिरमा पहिरो तथा बेगखोला, रुप्सेखोला र मुस्ताङको मार्फाखोलामा बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।

आयोजनाको डोजर परिचालन गरेर पहिरो पन्छाइएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनलगायत जनप्रतिनिधि आफ्नो क्षेत्रमा पहिरो पन्छाएर यातायात सञ्चालनमा खटिएका थिए ।

पानी पर्न छाडेपछि खोलामा बाढीको सतह घटेर यातायात सञ्चालन हुन थालेका छन् । बीच सडकमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन व्यवसायमा असर परेको छ । विगतका वर्षमा दसैँ लगत्तै घुम्न आएका पर्यटकले भरिभराउ हुने म्याग्दी र मुस्ताङका होटल सुनसान छन् ।

आवतजावतका साथै मुस्ताङमा उत्पादन भएको स्याउ, आलु लगायत कृषि उपज निकासी र निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी प्रभावित भएको छ । बेनी–जोमसोम सडकले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई पनि राष्ट्रिय राजमार्गसँग जोड्छ ।रासस

अडिटपछि नेपालको हवाई सुरक्षाप्रति ईयूको प्राविधिक टोली सकारात्मक Read Previous

अडिटपछि नेपालको हवाई सुरक्षाप्रति ईयूको प्राविधिक टोली सकारात्मक

विकट गाउँमा उत्पादित कफी जापान, कोरिया र जर्मनी निर्यात, उत्पादन नहुँदै बुकिङ Read Next

विकट गाउँमा उत्पादित कफी जापान, कोरिया र जर्मनी निर्यात, उत्पादन नहुँदै बुकिङ