हाइड्रोपावरमा लगानीकर्ताको उच्च आकर्षण, दुई महिनामै ५८ अर्ब लगानी प्रस्ताव

काठमाडौं । जलविद्युत् क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कृषि, उत्पादनमूलक लगायत क्षेत्रमा खासै आकर्षित हुन नुसकेका लगानीकर्ता जलविद्युत् क्षेत्रमा भने आकर्षित भएका हुन् ।

एकपटक लगानी गरिसकेपछि निरन्तर आम्दानी हुने, उत्पादित बिजुली खेर गए पनि सम्झौता अनुसार पैसा आउने, नेपालमा खपत नभए विदेशसम्म निर्यात गर्न सक्ने लगायत कारणले हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको हो । साथै, सरकारले जलविद्युत्मा लगानी गर्नेलाई विभिन्न सहुलियत तथा छुट दिएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् ।

चालु आर्थिक वर्षको दुई महिनामै जलविद्युत्मा निजी क्षेत्रले सवा ५८ अर्ब लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको भदौ मसान्तसम्म जलविद्युत् क्षेत्रमा ५८ अर्ब २२ करोड ३५ लाख रुपैयाँ बराबर लगानी प्रस्ताव आएको छ ।

उक्त रकम लगानीमा ३१८.२५ मेगावाट क्षमताका १८ उद्योग दर्ता भएको विभागले जनाएको छ । ४ मेगावाटदेखि १०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा लगानी प्रस्ताव आएको छ ।

कहाँ कति मेगावाटको हाइड्रोपावर बन्दैछन् ?

चालु आवमा दर्ता भएका १८ वटा कम्पनीले देशका विभिन्न १२ जिल्लामा हाइड्रोपावर बनाउने भएका छन् । तामाकोशी जलविद्युत् कम्पनीले दोलखाको बिगु गाउँँपालिकामा ९९.८ मेगावाटको तामाकोशी पाँचौँँ जलविद्युत् निर्माण गर्ने भएको छ । उक्त कम्पनीले १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ सो आयोजना बनाउन लागेको हो ।

यस्तै, कार्बोनलेस इनर्जी फण्ड प्रालिले मनाङको नासो गाउँपालिकामा ३०.४० मेगावाटको जलविद्युत् आयोजना बनाउने भएको छ । कम्पनीले ५ अर्ब ९६ करोड २२ लाख रुपैयाँ लगानीमा उक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा १४.५ मेगावाट जलविद्युत् आयोजना बन्ने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १४.५ मेगावाटको बुद्धम खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । उक्त आयोजनाको अनुमानित लागत २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यस्तै, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँँपालिकामा सिल्क पावर प्रालिले ४ अर्ब ४० लगानीमा २४.८८ मेगावाट, सोलु दुधकुण्ड नगरपालिकामा नुम्बुर दुधकुण्ड हाइड्रोपावरले २ अर्ब १५ करोड लगानीमा ९.४८ मेगावाट जलविद्युत् आयोजना बनाउने भएको छ ।

यसैगरी, बझाङमा ओमेगा इनर्जी डेभलपर प्रालिले ३ अर्ब ३ करोड लगानीमा १४ मेगावाटको माथिले सुनीगाड नलविद्युत् आयोजना, ट्रष्ट इनर्जी लिमिटेडलले ५ अर्ब ३८ करोडमा ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा ३० मेगावाट, यारु हाइड्रोपावरले ५ अर्ब ८१ करोड लगानीमा गोर्खाको धार्चे गाउँपालिकामा ३०.५९ मेगावाट, मेवा डेभलपर्स लिमिटेडले २ अर्ब ७ करोड लगानीमा ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा ९.३० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

यस्तै, एस.कइनर्जी डेभलपमेन्टले भोजपुरको षडानन्द नगरपालिकामा १ अर्ब ३२ करोड लगानीमा ७.२५ मेगावाट, हलेसी हाइड्रोपावर प्रालिले १ अर्ब ७ करोडमा खोटाङको एंैसेलुखर्क नगरपालिकामा ५.४ मेगावाट, शिखर पावर डेभलपमेन्टले १ अर्ब ९ करोडमा बाग्लुङको बडिगाड गाउँपालिकामा ६.०५ मेगावाट, वाग्मती वाटर प्रालिले १ अर्ब ३५ करोड ललितपुरको वाग्मती गाउँपालिकामा ६.५ मेगावाट, माउन्टेन इनर्जी नेपालले १ अर्ब ६१ करोडमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाटको जलविद्युत् आयोजना बनाउने भएको छ ।

विश्वका अब्बल कामदार तान्न यूएईको डिजिटल घुमन्ते भिसा नीति, ठूला अर्थतन्त्र भएका देश दबाबमा Read Previous

विश्वका अब्बल कामदार तान्न यूएईको डिजिटल घुमन्ते भिसा नीति, ठूला अर्थतन्त्र भएका देश दबाबमा

१८ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Next

१८ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक