काठमाडौं । सुदूरपश्चिममा कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ ।
छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए । ‘ खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन,’ चौधरीले भने, ‘ दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।’
पाकेर तयार भइसकेको धानबाली दुई हप्ताअघि नै भित्र्याउने तयारी किसानले गरेका थिए । केही दिनदेखि भइरहेको हावाहुरीसहितको वर्षाले भित्र्याउने अवस्था नहुँदा झुलेका बाला खेतैमा ढलेर क्षति पुगेको किसानले बताएका छन् ।
मुख्य खाद्यान्न बाली धान पाकेर झुलेपछि धेरै किसानलाई दसैँमा रमाउनेभन्दा पनि धान कतिबेला र कसरी भित्र्याउने भन्ने चिन्ता बढेको छ । बुधबार खेतमा काटेको बाली उठाउँदै गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका–१३ का नारायण चौधरीले चाहिने बेला पानी नपर्ने नचाहिने बेला झरी पर्ने समस्याले हैरान पारेको गुनासो सुनाए ।
‘ छिनछिनमा भइरहेको झरीले निकै समस्यामा पार्यो रानाले भने, ‘ गत वर्षको दसैँमा पनि बाली काट्ने समयमै भएको वर्षाले पूरै धनबाली भिजेर खेतमै उम्रिएको थियो । ’ बर्सेनि मौसममा(जलवायु) भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीवभन्दा शत्रुजीवको समस्या बढ्न थालेको किसानको अनुभव छ । मौसममा छिनछिनमै देखिने अस्वाभाविक परिवर्तनको समस्या पछिल्ला वर्षमा बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
हावाहुरी चलेर आकासमा छिनमै बादल मडारिएर वर्षा हुने र छिनमै बादल हराएर टन्टलापुर घाम लाग्ने सुक्खा मौसम हुने समस्या बढेको अनुभव किसान मानबहादुरले बताए । ‘धानबाली भित्र्याउने असोज महिनामा यस्तो झरी र वर्षा भइरहने मौसमको अनुभव यसअघि कहिल्यै भएन्, ’ उनले भने, ‘ जलवायु परिवर्तनको असरले यस्तो भएको भनिन्छ, नेट इन्टरनेट र फोनको पहुँच बढ्दा भने किसान पहिलेको भन्दा सचेत भएका छन् ।’
रोपाइँ गर्ने समय असार महिनामा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्णरूपमा सक्रिय हुन नसक्दा भएको पर्याप्त पानीको अभावले कतिपय किसानले बोरिङ पम्पिङ सेटबाट पानी तानेर रोपाइँ गरेका थिए ।
यसैबीच दुई दिनदेखि भइरहेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश बस्ती र सडक जलमग्न हुँदा आवागमन असहज बनेको छ । धनगढीस्थित विभिन्न सरकारी कार्यालय परिसरमा दुई/तीन फिटसम्म पानी जमेको छ ।
विभिन्न नदीमा आउने बाढीका कारण जिल्लाको टीकापुर, भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, जोशीपुर, पथरैयालगायतका होचो भूभागका बस्ती डुबानमा परी प्रभावित हुने गरेका छन् । दुई हप्ताअघिको वर्षासँगै भएको डुबानको समस्याले भजनी, जानकी, टीकापुर र जोशीपुर क्षेत्रमा बस्ती डुबानमा पर्दा धनमाल भिजेर क्षेति पुगेको थियो ।