काठमाडौं उपत्यकाका यी ठाउँमा भइरहेछ धेरै घरजग्गा किनबेच

काठमाडौं । सरकारले कित्ताकाटमा गरेको कडाइले घरजग्गा कारोबार सुस्त भएको छ । गत वर्षको तुलनामा घरजग्गा कारोबार झन्डै आधाले घटेको छ ।

कारोबार सुस्त भए पनि अहिले काठमाडौं उपत्यका र तराईका सहरी क्षेत्रमा घरजग्गा किनबेच भइरहेकै छ । मानिसको बाक्लो बस्ती तथा सहरी क्षेत्रमा आवास निमार्णको चाहानासँगै घरजग्गा किनबेच दिनानुदिन बढ्दै गएको हो ।

तीव्र सहरीकरण तथा घडेरी निर्माण गरेर विक्री गर्नका लागि प्लटिङको क्रम बढ्दो छ । जसको कारण जग्गा टुक्रा पारेर किनबेच भइरहेको सरकारी तथ्यांकहरूले देखाउँछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ मसान्तमा भूउपयोग नियमावली जारी गरेर कार्यान्वयनमा ल्याएको छ । त्यसयता जग्गाको वर्गिकरण नगरिएका कारण कित्ताकाट घटेको छ । तर, उपत्यका र तराईका क्षेत्रहरूमा भने देशभरकै सबैभन्दा धेरै घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

भूउपयोग नियमावलीले स्थानीय तहमा भूउपयोग परिषद गठन गरेर कृषि र गैरकृषि क्षेत्र जमिन छुट्याउन भनेको छ । सो अवधिसम्म जग्गा किनबेच तथा कारोबारका लागि स्थानीय तहको सिफारीस आवश्यक रहने व्यवस्था सरकारले गरेको छ । मन्त्रालयले २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

विभागको तथ्यांक अनुसार गत भदौमा सबैभन्दा धेरै घरजग्गा किनबेच काठमाडौंका मालपोत कार्यालय मार्फत भएको छ । चालु आर्थिक वर्षमा काठमाडौंका विभिन्न मालपोत कार्यालय मार्फत ४१६६ घरजग्गा किनबेच भएका छन् ।

काठमाडौंमा ६ वटा मालपोत कार्यालय रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै कलंकी मालपोत कार्यालयबाट भएको विभागले जनाएको छ । भदौमा यस मालपोतबाट ७१८ घरजग्गा किनबेच भएका छ भने साउनमा ४९९ घरजग्गा किनबेच भएको थियो ।

दोस्रोमा साँखु मालपोत कार्यालयबाट भदौमा ६९४ र साउनमा ४७२ घरजग्गा किनबेच भएको तथ्यांक छ । यसैगरी,चाबहिल क्षेत्रमा पनि घरजग्गा किनबेच मौलाएको छ । यस मालपोत कार्यालयबाट साउनमा ४१७ र भदौमा ५२६,भदौमा टोखा मालपोतबाट १३३,डिल्ली बजार कार्यालय १८६ र मनमैजु मालपोत कार्यालयबाट २५४ घरजग्गा किनबेच भएको छ ।

यसैगरी, ललितपुरको गोटीखेल मालपोत कार्यालयबाट १३, लगनखेल मालपोत कार्यालयबाट ८५० र भक्तपर मालपोतबाट ९२६ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

उपत्यका आसपासमा क्षेत्रहरूमा घरजग्गा कारोबार मौलाएको एक जग्गा व्यवसायीले बताए । ‘बाक्लो बस्ती र महंगो मूल्यका कारण मुख्य ठाउँमा मानिसले जमिन किन्न मान्दैनन् र यी ठाउँमा नपाइने भएको छ । त्यसकारण काठमाडौं, भक्तपुर र ललितपुरको आसपासका क्षेत्रहरूमा किनबेच बढेको हो,’ उनले भने, ‘नयाँ आवास निमार्णको लागि डाँडा काटेर प्लटिङको काम पनि यी ठाउँमै भइरहेको छ । मानिसले सस्तो मूल्य र सान्त क्षेत्रमा घर निर्माणका लागि जग्गा खोज्ने गरेका छन् । तर, त्यस्तो जमिन नपाउने अवस्था नै भइसकेको छ ।’

अभिलेख विभागका अनुसार गत साउनको तुलनामा भदौमा घरजग्गा किनबेच केही बढेपनि गत वर्षको सोही अवधिको तुलनामा भने आधा घटेको छ । भदौमा देशभरका मालपोत कार्यालहरूबाट ३४ हजार ७२० घरजग्गा किनबेच भएको छ । गत भदौमा ७० हजार किनबेच भएको विभागले जनाएको छ ।

कित्ताकाट पनि सोही अनुसार घटेको छ । गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भएर १५ हजार ३०५ कित्ता कायम भएकोमा भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भएर २१ हजार ८७७ कित्ता कायम भएको छ ।

सरकारले कारोबारमा कडाइ गर्दा त्यस वापत प्राप्त हुने राजस्व पनि गुमाय रहेको छ । गत महिना सरकारले घरजग्गा कारोबार वापत ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सामान्य अवस्थामा मासिक ५ अर्बको हाराहारीमा राजस्व संकलन र ७० हजार किनबेच हुनेगरेको विभागको तथ्यांक छ । सहरी र तराईमा जग्गाको मुल्य बढी हुँदा राजस्व गिरावटमा पनि कम असर पर्ने गरेको देखिन्छ ।

 

 

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध Read Previous

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

गत वर्षको नाफाबाट ३ बैंकको लाभांश घोषणा, कुनको कति ? Read Next

गत वर्षको नाफाबाट ३ बैंकको लाभांश घोषणा, कुनको कति ?