काठमाडौं । जोगबनी-विराटनगर क्रस बोर्डर रेलमार्ग चाँडै सञ्चालनमा ल्याइने भएको छ । पूर्वाधार निर्माण भइसकेको उक्त रेलमार्ग औपचारिक हस्तान्तरणपछि संचालनमा ल्याउने तयारी गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिक्देलले उक्त १८ किलोमिटर खण्ड मध्ये ८ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पूर्वाधार निर्माण भइसकेको बताए ।
क्रसबोर्डर रेलमार्ग अन्तर्गतको सोही खण्डको फाइल हस्तान्तरणको काम बाँकी रहेको उनले बताए । दशैँ तिहार सकिए लगत्तै हस्तान्तरणको काम समेत सक्ने बताए । फाइनल हस्तान्तरणका लागि भारत र नेपाल पक्षबीच जोइन्ट इन्सपेक्सन भइरहेको उनले बताए ।
‘जोगबनीको बथनाहादेखि विराटनगरको आइसीटीसम्म तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । फाइनल हस्तान्तरणको काम बाँकी छ,’ सिक्देलले भने ।
सो रेल यात्रुवाहक नभएर मालवाहक वस्तु यातायात तथा निर्यातका लागि प्रयोग गरिने उनले बताए । उनले उक्त खण्डमा रेल सञ्चालनमा आए कलकत्ता, विसाखापट्नाबाट विराटनगर आउने वस्तु सोझै ल्याउन सहज हुने बताए ।
२०१० मा एमओयू भए अनुसार ५ वटा सीमावर्ती क्षेत्रमा रेलमार्ग विकास गर्ने सम्झौता भए अनुसार निर्माण सुरू गरिएको हो । त्यसै अनुरुप जोगबनी–विराटनगर रेलमार्ग र कुर्था–जनकपुर–बर्दिबास खण्डमा रेल मात्र बन्ने क्रममा रहेका छन् । सो मध्ये हालसम्म कुर्था–जनकपुर खण्डमा रेल सञ्चालनमा ल्याइसकेको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दै गरेको यस खण्डमा जग्गा उपलब्ध गराइने र सहजीरणको कामको जिम्मा नेपाल सरकारले लिएको छ । भारतीय पक्षले आफ्नै पूर्वाधार लिएर काम गरिरहेको यस खण्डमा जग्गा प्राप्तिको समस्या अझै कायमै रहेको रेल विभागका सूचना अधिकारी अमन चित्रकारले बताए ।
जोगबनीको नेपाल भारत सिमाबाट नेपाल कष्टम याडसम्म रेल ल्याउने गरी काम भइरहेको हो । ‘रेल बनाउने ठाउँमा लिक बिछाउने काम भइरहेको छ तर, केही स्टेसन बनाउने ठाउँमा जग्गाको समस्या छ, नत्र हामी ८ किलोमिटरमा मात्र भए पनि रेल गुडाउने छाैं,’ चित्रकारले भने ।
नेपाल भारत सरकार बीच ५ वटा नाकामा रेलमार्ग ल्याउने गरी एमओयू भएको छ । एमओयू अनुसार पूर्वमा न्यूजलपागुडीदेखि काँकडभिट्टासम्म, तनहुँ–भैरहवा र भारतको नेपागञ्ज रोडदेखि नेपालगञ्जसम्म रेलमार्ग गुडाउने सम्झौता भएको छ । यी मध्ये हालसम्म दुई खण्डमा मात्र रेल निर्माणको काम भइरहेको छ ।
नेपालगञ्ज र भैरहवामा मालपोत, नापी, स्टक होलडरलाई राखेर छलफल गर्ने काम भए पनि त्यहाँ थप काम हुन सकेको छैन । नेपालगञ्जको रागा हुँदै ल्याउने भनेको रेलमार्ग आइसीटी भएतर्फ ल्याउन भारतसँग माग गरे पनि त्यसपछि छलफल अघि बढ्न नसकेको सूचना अधिकारी चित्रकारले बताए । उनले दुई खण्डमा रेलमार्गलाई प्राथमिकताका साथ निर्माण गरिदै गरेकाले अन्य स्थानमा रेलमार्ग निर्माण विचाराधीन अवस्थामा रहेको बताए ।
बर्दिबास–बथनाहा विराटनगर खण्डमा रेलको लिक बनाउने काम पूरा गरी रेल गुडाउन परीक्षण समेत गरिएको छ । उक्त खण्डमा समेत चाँडै रेल सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । यो रेल यात्रुहरूका लागि गुडाइनेछ ।