काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंं सुरू भइसकेको छ । विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरू दशैंं मनाउन आफ्नो गाउँतिर लाग्न थालेका छन् । विदेशीएकाहरू स्वदेश फर्किने होस् वा सहरबाट गाउँ जाने यात्रुहरूको यो समयमा भीड लाग्ने गरेको छ ।
दशैंं मनाउन राजधानीबाट हरेक वर्ष करिब २० लाख बढी यात्रु बाहिरिने गरेका छन् । पारिवारिक भेटघाट र घुमफिर तथा खानपिनमा व्यस्त रहने यस पर्वलाई पर्यटकीय तथा मनोरञ्जनात्मक दृष्टिकोणबाट पनि हेर्ने गरिएको छ ।
आर्थिक अवस्था राम्रो होस् वा नहोस् नयाँ कपडा र मिठो खानपिनमा मानिसहरूले ठूलो रकम खर्च गर्ने गरेका छन् । कतिपय अवस्थामा ऋण लिएर समेत दशैंं मनाउने प्रचलन रहँदै आएको छ ।
दशैंंमा मानिसको चहलपहल र व्यापारिक गतिविधि बढ्ने गरेको छ । जसको कारण दशैंं सामाजिक सांस्कृतिक पर्वमा मात्र सीमित नभएर अर्थतन्त्रसँग पनि जोडिएको छ ।
किनमेल, खानपिन र आर्थिक कारोबार तथा व्यापारिक गतिविधिमा मानिसको संलग्नता सामान्य अवस्थाको भन्दा बढ्ने गरेको छ । दशैंंमा नेपालीहरूले कति खर्च गर्छन् त्यसको एकीन तथ्यांक छैन । जानकारहरूको अनुमान अनुसारमा दशैंंमा ५ खर्ब बढीको कारोबार हुने गरेको बताइन्छ ।
दशैंंमा आम मानिसले गर्ने खर्चले अर्थतन्त्रमा सकरात्मक र नकारात्मक दुवै प्रभाव पर्ने अर्थविद्हरू बताउँछन् । दशैंंले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा यहाँ विश्लेषण गरिएको छ ।
अर्थतन्त्र चलायमान, विदेशी विनिमय र भुक्तानी सन्तुलनमा दबाब
सिथिल बनेको अर्थतन्त्र र आर्थिक गतिविधिलाई दशैंंले चलायमान बनाउने अर्थविद्हरू बताउँछन् । किनमेल र उपभोगसँग जोडिने भएकाले त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्ने उनीहरूको भनाइ छ ।
अर्थशास्त्री रघुवीर बिष्ट दशैंंले केही हदसम्म आर्थिक गतिविधि चलायमान बनाएपनि विनिमय संचिति र भुक्तानी सन्तुलनमा दबाब पर्ने बताउँछन् । ‘विगतदेखि अर्थतन्त्रका सूचकहरू अस्थिर, असन्तुलन र जोखीमपूर्ण रहेका छन् । दशैंं, तिहार जस्ता चाडपर्वले केही चलायमान बनाउछ’ उनले भने, ‘दशैंं खानपिन र आपूर्तिसँग जोडिएको छ । यसले माग बढाइरहेको हुन्छ । जसको कारण लगानीदेखि आपूर्ति बढ्छ । आयातमुखी अर्थतन्त्र भएकाले यसले विनिमय संचिति र भुक्तानी सन्तुलनमा चाप पर्ने देखिन्छ ।’
मूल्यवृद्धिका कारण माग संकुचन भएर अर्थतन्त्र कमजोर हुनुका साथै तलता संकटले लगानी बढेको छैन् । यस्तो अवस्थामा आर्थिक गतिविधि चलायमान हुँदा अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने उनले बताए ।
हरेक वर्ष दशैंं,तिहार र छठमा धेरैसमय बिदा हुने भएकाले परिवारसँगै घुम्न जानेहरूको संख्या बढ्ने गरेको छ । जसको कारण होटल व्यवसाय, सवारीसाधन, हवाई सेवा प्रदायक कम्पनी, ट्राभल एण्ड टूर कम्पनीको समेत व्यापार वृद्धि हुन्छ । तर, आयातमुखी अर्थतन्त्र भएकाले त्यसको प्रत्यक्ष असर विदेशी विनिमय संचिति र व्यापार घाटामा पर्ने गरेको छ ।
परनिर्भरता र आयात बढाउँछ
अर्थविद् डा. चन्द्रमणी अधिकारी उपभोगमुखी अर्थतन्त्र भएकाले दशैंंले विनिमय संचिति र भुक्तानी सन्तुलनमा प्रतिकुल असर पार्ने बताउँछन् । ‘हाम्रो अर्थतन्त्र उपभोगमुखी छ । अधिकांश वस्तुहरू उत्पादनभन्दा उपभोगमा जोड दिइएका छन् । यसले अधिकांश वस्तु तथा सेवालाई आयातमुखी बनाएको छ,’ उनले भने, ‘दशैंंमा माग र उपभोग बढ्ने भएकाले परनिर्भरता र आयात बढाउँछ । यसले विदेशी मुद्रा संचिति माथिको चाप बढेर जान्छ ।’

अन्तर्राष्ट्रिय मूल्यवृद्धि, दशैंमा गरीने उपभोग र खर्च तथा निर्वाचनले केही समय अर्थतन्त्र प्रभावित पार्ने उनले बताए । ‘यस वर्षको दशैंं तीनवटा कारणले प्रभावित हुन्छ । रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय रूपमा भएको मूल्यवृद्धि, दशैंंमा गर्ने उपभोग र खर्च, नजिकिँदै गरेको निर्वाचनले उपभोक्तालाई महंगीमा पार्छ,’ उनी भन्छन् ।
व्यापार घाटामा प्रोत्साहन
आन्तरिक उत्पादन बढाउन नसक्दा नेपालको व्यापार घाटा निरन्तर बढ्दै गएको छ । उपभोग र उत्पादन बीचको तालमेल नमिल्दा खल्बलिएको व्यापार सन्तुलनमा दशैंं जस्ता उपभोगय चाडले थप प्रोत्साहन पुर्याउने अर्थविद्हरू बताउँछन् ।
दशैंंमा गरिने हरेक गतिविधिले मानिसको बचत घटाउने उनले बताए । दशैंंमा मानिसले हरेक खानेकुरादेखि लगाउनेसम्म खरिद गर्छन् । यसले उनीहरूको खर्च बढाएर बचत घटाउछ । त्यसपछि उनीहरूको वैदेशिक व्यापार बढेर जान्छ ।
तर, केही आन्तरिक उत्पादनमा वृद्धि भएपनि त्यो न्यून भएको उनको भनाइ छ । समग्र खर्चको २० प्रतिशतले उत्पादन वृद्धि भएपनि ८० प्रतिशत हिस्सा आयातमा जान्छ । यसले झन् परनिर्भर बनाउँदै लैजान्छ ।
मूल्यवृद्धिको मारमा निम्न वर्ग
रूस र युक्रेन युद्वका कारण एक वर्षदेखि संसारको आपूर्ति प्रणाली प्रभावित भएको छ । जसको कारण अहिले विकसित देशहरूले पनि चर्को मूल्यवृद्धिको सामना गरिरहेका छन् । यसको प्रभाव नेपालसम्म आइपुगेको छ ।
हाल नेपालले पछिल्लो आधा दशकयताकै मूल्यवृद्धिको सामना गरिरहेको छ । त्यसमा पनि कमजोर आर्थिक स्थिति भएका मानिसहरू झन पिल्सिएका छन् । उनीहरूलाई दैनिकी चलाउनै मुस्किल पर्न थालेको छ ।
मूल्यवृद्धिले निम्न वर्गको लागि दशैं लगायत चाडवार्ड दशा जस्तो भएको अर्थविद् अधिकारी टिप्पणी गर्छन् । ‘महंगीले दशैं दशाजस्तो भएको अवस्था छ । हिजो जुन वस्तु जति रुपैयाँ खर्च गरेर आउँथ्यो अहिले त्यसको दोब्बर खर्च गर्नु परिरहेको अवस्था छ,’ उनले भने, ‘सामाग्रीहरूको गुणस्तर पनि छैन् । राज्यले त्यस्तो प्रकारको वैकल्पिक संरचना पनि बनाएको छैन् । यस्तो संरचना भएको भए निजी क्षेत्रले धेरै पैसा लिन खोज्यो भने मानिसले अन्य विकल्प खोज्थ्ये ।’
उत्पादक र आयातकर्ता सीमित भएकाले एकप्रकारले उनीहरूले सिन्डिकेट गरिरहेको उनले बताए । मूल्यवृद्धिको यो पनि एउटा आन्तरिक कारण भएको उनले बताए ।यसले अर्थतन्त्र र उपभोक्तामाथि प्रतिकूल असर पार्ने उनको भनाइ छ ।