दशैंले अर्थतन्त्रमा कस्तो पार्छ प्रभाव ?

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंं सुरू भइसकेको छ । विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरू दशैंं मनाउन आफ्नो गाउँतिर लाग्न थालेका छन् । विदेशीएकाहरू स्वदेश फर्किने होस् वा सहरबाट गाउँ जाने यात्रुहरूको यो समयमा भीड लाग्ने गरेको छ ।

दशैंं मनाउन राजधानीबाट हरेक वर्ष करिब २० लाख बढी यात्रु बाहिरिने गरेका छन् । पारिवारिक भेटघाट र घुमफिर तथा खानपिनमा व्यस्त रहने यस पर्वलाई पर्यटकीय तथा मनोरञ्जनात्मक दृष्टिकोणबाट पनि हेर्ने गरिएको छ ।

आर्थिक अवस्था राम्रो होस् वा नहोस् नयाँ कपडा र मिठो खानपिनमा मानिसहरूले ठूलो रकम खर्च गर्ने गरेका छन् । कतिपय अवस्थामा ऋण लिएर समेत दशैंं मनाउने प्रचलन रहँदै आएको छ ।

दशैंंमा मानिसको चहलपहल र व्यापारिक गतिविधि बढ्ने गरेको छ । जसको कारण दशैंं सामाजिक सांस्कृतिक पर्वमा मात्र सीमित नभएर अर्थतन्त्रसँग पनि जोडिएको छ ।

किनमेल, खानपिन र आर्थिक कारोबार तथा व्यापारिक गतिविधिमा मानिसको संलग्नता सामान्य अवस्थाको भन्दा बढ्ने गरेको छ । दशैंंमा नेपालीहरूले कति खर्च गर्छन् त्यसको एकीन तथ्यांक छैन । जानकारहरूको अनुमान अनुसारमा दशैंंमा ५ खर्ब बढीको कारोबार हुने गरेको बताइन्छ ।

दशैंंमा आम मानिसले गर्ने खर्चले अर्थतन्त्रमा सकरात्मक र नकारात्मक दुवै प्रभाव पर्ने अर्थविद्हरू बताउँछन् । दशैंंले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा यहाँ विश्लेषण गरिएको छ ।

अर्थतन्त्र चलायमान, विदेशी विनिमय र भुक्तानी सन्तुलनमा दबाब

सिथिल बनेको अर्थतन्त्र र आर्थिक गतिविधिलाई दशैंंले चलायमान बनाउने अर्थविद्हरू बताउँछन् । किनमेल र उपभोगसँग जोडिने भएकाले त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्ने उनीहरूको भनाइ छ ।

अर्थशास्त्री रघुवीर बिष्ट दशैंंले केही हदसम्म आर्थिक गतिविधि चलायमान बनाएपनि विनिमय संचिति र भुक्तानी सन्तुलनमा दबाब पर्ने बताउँछन् । ‘विगतदेखि अर्थतन्त्रका सूचकहरू अस्थिर, असन्तुलन र जोखीमपूर्ण रहेका छन् । दशैंं, तिहार जस्ता चाडपर्वले केही चलायमान बनाउछ’ उनले भने, ‘दशैंं खानपिन र आपूर्तिसँग जोडिएको छ । यसले माग बढाइरहेको हुन्छ । जसको कारण लगानीदेखि आपूर्ति बढ्छ । आयातमुखी अर्थतन्त्र भएकाले यसले विनिमय संचिति र भुक्तानी सन्तुलनमा चाप पर्ने देखिन्छ ।’

मूल्यवृद्धिका कारण माग संकुचन भएर अर्थतन्त्र कमजोर हुनुका साथै तलता संकटले लगानी बढेको छैन् । यस्तो अवस्थामा आर्थिक गतिविधि चलायमान हुँदा अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने उनले बताए ।

हरेक वर्ष दशैंं,तिहार र छठमा धेरैसमय बिदा हुने भएकाले परिवारसँगै घुम्न जानेहरूको संख्या बढ्ने गरेको छ । जसको कारण होटल व्यवसाय, सवारीसाधन, हवाई सेवा प्रदायक कम्पनी, ट्राभल एण्ड टूर कम्पनीको समेत व्यापार वृद्धि हुन्छ । तर, आयातमुखी अर्थतन्त्र भएकाले त्यसको प्रत्यक्ष असर विदेशी विनिमय संचिति र व्यापार घाटामा पर्ने गरेको छ ।

परनिर्भरता र आयात बढाउँछ

अर्थविद् डा. चन्द्रमणी अधिकारी उपभोगमुखी अर्थतन्त्र भएकाले दशैंंले विनिमय संचिति र भुक्तानी सन्तुलनमा प्रतिकुल असर पार्ने बताउँछन् । ‘हाम्रो अर्थतन्त्र उपभोगमुखी छ । अधिकांश वस्तुहरू उत्पादनभन्दा उपभोगमा जोड दिइएका छन् । यसले अधिकांश वस्तु तथा सेवालाई आयातमुखी बनाएको छ,’ उनले भने, ‘दशैंंमा माग र उपभोग बढ्ने भएकाले परनिर्भरता र आयात बढाउँछ । यसले विदेशी मुद्रा संचिति माथिको चाप बढेर जान्छ ।’

अन्तर्राष्ट्रिय मूल्यवृद्धि, दशैंमा गरीने उपभोग र खर्च तथा निर्वाचनले केही समय अर्थतन्त्र प्रभावित पार्ने उनले बताए । ‘यस वर्षको दशैंं तीनवटा कारणले प्रभावित हुन्छ । रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय रूपमा भएको मूल्यवृद्धि, दशैंंमा गर्ने उपभोग र खर्च, नजिकिँदै गरेको निर्वाचनले उपभोक्तालाई महंगीमा पार्छ,’ उनी भन्छन् ।

व्यापार घाटामा प्रोत्साहन

आन्तरिक उत्पादन बढाउन नसक्दा नेपालको व्यापार घाटा निरन्तर बढ्दै गएको छ । उपभोग र उत्पादन बीचको तालमेल नमिल्दा खल्बलिएको व्यापार सन्तुलनमा दशैंं जस्ता उपभोगय चाडले थप प्रोत्साहन पुर्याउने अर्थविद्हरू बताउँछन् ।

दशैंंमा गरिने हरेक गतिविधिले मानिसको बचत घटाउने उनले बताए । दशैंंमा मानिसले हरेक खानेकुरादेखि लगाउनेसम्म खरिद गर्छन् । यसले उनीहरूको खर्च बढाएर बचत घटाउछ । त्यसपछि उनीहरूको वैदेशिक व्यापार बढेर जान्छ ।

तर, केही आन्तरिक उत्पादनमा वृद्धि भएपनि त्यो न्यून भएको उनको भनाइ छ । समग्र खर्चको २० प्रतिशतले उत्पादन वृद्धि भएपनि ८० प्रतिशत हिस्सा आयातमा जान्छ । यसले झन् परनिर्भर बनाउँदै लैजान्छ ।

मूल्यवृद्धिको मारमा निम्न वर्ग

रूस र युक्रेन युद्वका कारण एक वर्षदेखि संसारको आपूर्ति प्रणाली प्रभावित  भएको छ । जसको कारण अहिले विकसित देशहरूले पनि चर्को मूल्यवृद्धिको सामना गरिरहेका छन् । यसको प्रभाव नेपालसम्म आइपुगेको छ ।

हाल नेपालले पछिल्लो आधा दशकयताकै मूल्यवृद्धिको सामना गरिरहेको छ । त्यसमा पनि कमजोर आर्थिक स्थिति भएका मानिसहरू झन पिल्सिएका छन् । उनीहरूलाई दैनिकी चलाउनै मुस्किल पर्न थालेको छ ।

मूल्यवृद्धिले निम्न वर्गको लागि दशैं लगायत चाडवार्ड दशा जस्तो भएको अर्थविद् अधिकारी टिप्पणी गर्छन् । ‘महंगीले दशैं दशाजस्तो भएको अवस्था छ । हिजो जुन वस्तु जति रुपैयाँ खर्च गरेर आउँथ्यो अहिले त्यसको दोब्बर खर्च गर्नु परिरहेको अवस्था  छ,’ उनले भने, ‘सामाग्रीहरूको गुणस्तर पनि छैन् । राज्यले त्यस्तो प्रकारको वैकल्पिक संरचना पनि बनाएको छैन् । यस्तो संरचना भएको भए निजी क्षेत्रले धेरै पैसा लिन खोज्यो भने मानिसले अन्य विकल्प खोज्थ्ये ।’

उत्पादक  र आयातकर्ता सीमित भएकाले एकप्रकारले उनीहरूले सिन्डिकेट गरिरहेको उनले बताए ।  मूल्यवृद्धिको यो पनि एउटा आन्तरिक कारण  भएको उनले बताए ।यसले अर्थतन्त्र र उपभोक्तामाथि  प्रतिकूल असर पार्ने उनको भनाइ छ ।

हवाई क्षेत्रको अडिट गर्न ईयूको प्राविधिक टोली नेपाल आउँदै, कालोसूचीबाट हट्ने आशा Read Previous

हवाई क्षेत्रको अडिट गर्न ईयूको प्राविधिक टोली नेपाल आउँदै, कालोसूचीबाट हट्ने आशा

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब, आठ गुणा सम्भावना खेर फाल्दै Read Next

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब, आठ गुणा सम्भावना खेर फाल्दै