सुख्खा पहिराेले गल्छी-देवीघाट सडक पूर्णरूपमा बन्द, माटो खसिरहेकाले खुलाउन चुनौतीपूर्ण

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहघाटस्थित लामासोतीमा बिहीबार साँझ गएको सुख्खा पहिरो ।

त्रिशूली । ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ ।

नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।

चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौं पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे ।

‘गल्छी–देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो । उक्त स्थानमा करिब ५०० मिटरमाथिबाट खसेको सुक्खा पहिराले २०० मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

सडक खुलाउन ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए ।

पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ ।रासस

यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान सुरू, यस्ता छन् विशोषता Read Previous

यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान सुरू, यस्ता छन् विशोषता

आजदेखि दुई मुख्य राजमार्गमा टिपर चलाउन रोक, अन्य गाडीमा टाइम कार्ड लागू Read Next

आजदेखि दुई मुख्य राजमार्गमा टिपर चलाउन रोक, अन्य गाडीमा टाइम कार्ड लागू